राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ असोज ०७ काठमाडौँ I बंगालको खाडीको मध्य भूभाग आसपास विकसित भएको न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले देशभर मौसममा तीव्र परिवर्तन आएको छ।
यस प्रणालीको प्रभावका कारण असोज ९ देखि ११ गतेसम्म देशका धेरैजसो स्थानमा निरन्तर वर्षा, बाढी तथा पहिरोको उच्च जोखिम रहने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई लामो दूरीको यात्रा स्थगित गर्न विशेष अनुरोध गरेको छ। महाशाखाका अनुसार बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै गएको छ भने विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा अति भारी वर्षा र अति भारी हिमपातको सम्भावना रहेको छ।
यस विषम मौसमलाई मध्यनजर गर्दै महाशाखाले पदयात्रा (ट्रेकिङ) का लागि हिमाली क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटक, गाइड र भरियाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ फर्कन र यात्राको तयारीमा रहेकाहरूलाई हालका लागि आफ्ना कार्यक्रम पूर्ण रूपमा स्थगित गर्न आग्रह गरेको छ।
विशेषगरी अन्नपूर्ण, मनास्लु सर्किट, अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल र तिलिचो तालजस्ता प्रसिद्ध एवं बाह्रै महिना पर्यटकको चहलपहल हुने गण्डकी प्रदेशका हिमाली गन्तव्यहरूमा हिमपात र पहिरोको जोखिम अत्यधिक रहने भएकाले पूर्ण सतर्कता अपनाउन मौसमविद्हरूले चेतावनी दिएका छन्।