मंगलवार, ६ आश्विन, २०८३

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

२०८३ असोज ०५ काठमाडौँ I बंगालको खाडीको मध्य-भागमा शक्तिशाली बन्दै गएको न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी असोज ९ गते (शुक्रबार) देखि ११ गते (आइतबार) सम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र देशका अन्य धेरैजसो भूभागमा मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।

यस भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र शहरी क्षेत्रमा डुबानको ठूलो जोखिम बढ्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले सम्भावित विपद्लाई ध्यानमा राख्दै संघ, प्रदेश, स्थानीय तह र सुरक्षा निकायहरूलाई उद्धारका लागि तयार रहन, जोखिमयुक्त राजमार्गहरूमा डोजर तथा उपकरणहरू तैनाथ राख्न र खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ। साथै, सूचना तथा उद्धारका लागि ११५५, १२३४, १०० र १११४ जस्ता आपत्कालीन हटलाइन नम्बरहरू उपलब्ध गराइएको छ।

advertisement_1676553908.gif