राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ८ असार, २०८१
काठमाडौं, असार ७ । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस वर्ष ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस नेपालमा पनि मनाइएको हो ।
समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी भएको कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागीता जनाएका थिए ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुनुको साथै मानसिक एवं शारीरिक स्वस्थताका लागि योग अपरिहार्य भएको खेलकुद संघका अध्यक्ष केदारनाथ बस्ताकोटीले बताए ।
नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ।
संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा विभिन्न योगासनहरु प्रस्तुत गरिएको थियो ।