बिहीबार, ४ भाद्र, २०८३

डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४, २ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, १९ घण्टा पहिले

डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४, २ जनाको मृत्यु

२०८३ भदौ ०३ काठमाडौँ । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ पुगेको छ । गत पुसदेखि हालसम्मको अद्यावधिक विवरण अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ पुगेको छ । यस अवधिमा डेंगु सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको स्थिति प्रतिवेदन अनुसार देशका ७४ जिल्लामा डेंगुको प्रकोप फैलिसकेको छ ।

​प्रादेशिक संरचना अनुसार सबैभन्दा बढी डेंगुका बिरामी गण्डकी प्रदेशमा भेटिएका छन् । गण्डकी प्रदेशमा कूल १,०१० जना सङ्क्रमित दर्ता भएका छन् भने कोशी प्रदेशमा ६७४ जना र लुम्बिनी प्रदेशमा ४३५ जना सङ्क्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशमा ४२७ जना, सुदूरपश्चिम प्रदेशमा १२२ जना तथा मधेस र कर्णाली प्रदेशमा ८८/८८ जना डेंगु बिरामी पुष्टि भएका छन् ।

जिल्लागत आधारमा हेर्दा बागलुङमा सबैभन्दा बढी ४७० जना सङ्क्रमित भेटिएका छन् भने झापामा २०८, सुनसरीमा २०५, कास्कीमा १७८ र पाल्पामा १२६ जना बिरामी परेका छन् ।

​डेंगुको जोखिम तीव्र रूपमा बढेपछि स्वास्थ्य विभागले लामखुट्टेको टोकाइबाट बच्न र व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउन सर्वसाधारणमा अपिल गरेको छ ।

घर, कार्यालय र सार्वजनिक स्थल वरपर पानी जम्न नदिन, खाडलहरू पुर्न र पानी राख्ने भाँडाहरू सधैँ ढाकेर राख्न आग्रह गरिएको छ ।

साथै, लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउन, राति तथा दिउँसो झुलभित्र सुत्न र शरीरका खुला भागमा लामखुट्टे भगाउने मलम प्रयोग गर्न महाशाखाले सुझाव दिएको छ ।

advertisement_1676551646.gif