सोमबार, १७ कार्तिक, २०८३

हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो थप उपचारका लागि डा. गोविन्द केसीलाई

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो थप उपचारका लागि डा. गोविन्द केसीलाई

२०८३ कार्तिक १६ काठमाडौँ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै २५औँ पटक सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रहमा बस्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उन्‍लाई इलाम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

इलाम अस्पतालका प्रमुख डा. अमिताभ ठाकुरको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले आइतबार पत्रकार सम्मेलन गरी डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको थियो ।

टोलीले उन्‍को स्वास्थ्य अवस्था जटिल बन्दै गएको, मुटुको धड्कनमा समस्या देखिएको र रगतमा ग्लुकोजको मात्रा घट्दै गएको जनाएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि तत्काल हेलिकप्टरमार्फत उद्धारको व्यवस्था मिलाउन इलाम अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै आवश्यक पहलका लागि आग्रह गरेको थियो ।

डा. केसीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । त्यहाँ उहाँको थप उपचार गरिनेछ ।

इलाम अस्पतालको चिकित्सक टोलीले निरन्तर स्वास्थ्य निगरानी र उपचार गरिरहे पनि थप उपचार आवश्यक देखिएपछि उहाँलाई काठमाडौं पठाइएको हो ।

advertisement_1676998982.gif