मंगलवार, ६ आश्विन, २०८३

कोशी प्रदेशमा डेंगुको संक्रमण तीव्र रूपमा बढ्दै, झापा सबैभन्दा जोखिममा

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

कोशी प्रदेशमा डेंगुको संक्रमण तीव्र रूपमा बढ्दै, झापा सबैभन्दा जोखिममा

२०८३ असोज ०५ झापा । कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्दै गएको छ । प्रदेशका १३ जिल्लामा फैलिएको डेंगुबाट झापा जिल्ला सबैभन्दा उच्च जोखिममा परेको  छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृती लुइँटेलका अनुसार सेप्टेम्बर १९, २०२६ सम्मको तथ्यांकअनुसार प्रदेशभर कुल ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये झापामा मात्रै हालसम्म २२८ जना फेला परेका छन् । दोस्रो धेरै सङ्क्रमित रहेको सुनसरीमा २०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार ओखलढुंगामा १२२ र खोटाङमा ८२ जना डेंगुका बिरामी भेटिएका छन् । यसैगरी, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै अवधिमा विभिन्न जिल्लाका अस्पतालहरूमा ५१ जना सम्भावित र दुई जना शङ्कास्पद डेंगुका बिरामी उपचाररत रहेको जनस्वास्थ्य अधिकृत लुइँटेलले जानकारी दिए । डेंगुको जोखिम तीव्र रूपमा बढेकाले लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

advertisement_1676551537.gif