राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १२ आश्विन, २०८१
काठमाडौं, असोज १२ । मकवानपुरको कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए ।
“जलाशय भरिन अझै एकरदुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो”, प्रजिअ चिलुवालले भने। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए ।
मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । कुलेखानीको क्षमता कूल एक हजार पाँच सय ३० मिटर छ ।
कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न अनुरोध गरको छ।