राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ बैशाख, २०८३
२०८३ बैशाख २८, काठमाडौं । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ ।
आज बिहान पौने सात बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको चक्कामा आगो लागेको थियो । आगो लागेको थाहा पाउनेबित्तिकै दमकलको प्रयोग गरेर नियन्त्रणमा लिइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा रहेका चार बालबालिकासहित २७७ जना यात्रु नै सुरक्षित रहेका छन् ।
विमानमा आगो देखिएपछि आपत्कालीन ढोका (इमर्जेन्सी एभ्याकुएसन) खोलेर यात्रुहरूको तत्काल उद्धार गरिएको थियो । उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको बताइएको छ । विमानमा यात्रु र उनीहरूका सामानका अतिरिक्त केही शवहरू पनि रहेका थिए ।
यस घटनाका कारण अहिले अन्तर्राष्ट्रिय उडान र अवतरण पूर्ण रूपमा प्रभावित भएको छ । टर्किस एयरलाइन्सको ‘टीके ७२६’ (TK726) विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरूको नियमित तालिका अवरुद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ ।
अहिले धावनमार्गबाट विमान हटाउने र उडान सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ ।