राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १९ आश्विन, २०८१
काठमाडौँ, असोज १९ । मकवानपुर प्रहरीले हेटौँडाबाट ११ करोड ४३ लाख बढीको अवैध सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आज शनिबार बिहान ३ बजे विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
हेटौँडा उपमहानगर १५ रातोमाटे चेक पोष्टस्थित पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार ती व्यक्तीहरुले भारतबाट नेपाल प्रवेश गराइएको उक्त सुन जनकपुरबाट बसमा र पथलैयाबाट स्कुटरमा ल्याएको र काठमाडौं लैजान तयारी गरेको खुलेको बताए ।
उक्त समान सहित निजहरु अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।