बिहीबार, २७ कार्तिक, २०८३

मकवानपुरको चिसापानी गढीमा ईभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

मकवानपुरको चिसापानी गढीमा ईभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते

२०८३ कार्तिक २६ मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित ऐतिहासिक तथा भिरालो भूगोल रहेको चिसापानी गढी क्षेत्रमा बिहीबार बिहान विद्युतीय (ईभी) माइक्रोबस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी बिहान करिब ६:१० बजेको समयमा अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनाको समयमा गाडीमा जम्मा १५ जना सवार थिए, जसमध्ये १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

अत्यन्तै भिरालो र अप्ठ्यारो खोँचमा गाडी खसेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ । घटनालगत्तै सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा विपद् उद्धार टोली परिचालन गरिएको छ ।

हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाउने तथा शव संकलन गर्ने कार्यलाई तीव्रता दिइरहेको छ ।

काठमाडौंबाट तराईका जिल्ला जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा रहेको हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल तथा सिस्नेरी सडकखण्ड साँघुरो र अत्यधिक घुम्तीयुक्त भएकाले सवारीसाधनका लागि जोखिमपूर्ण मानिन्छ । मृतक तथा घाइतेहरूको सनाखत र दुर्घटनाको यकिन कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676998982.gif