राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ८ असार, २०८०
गोरखा । गोरखाको शहिदलखन गाउँपालिका मनकामनामा जन्ती बोकेको जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।
सहिद लखन गाउँपालिका ३ मनकामनामा स्थित सिलिङ र ढाँडवारी वीचमा पर्ने अमल डाँडा भन्ने स्थानमा मा शुक्रबार बिहान करिव ३:३० बजेको समयमा दुर्घटना भएको हो।
जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो । घटनामा १४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार म़त्युहुनेहरूमा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ ।
दुलहा दुलही र जन्ती बाेकेर कोटगाउँबाट पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप आज बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा १९ जना सवार रहेका थिए ।
सडकबाट झण्डै दुईसय मिटर तल खसेर जीप दुर्घटना भएको घटनास्थलबाट डिएसपी लीलाराज लामिछानेले बताए । घटनास्थलमा स्थानीय सहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार गरेकाे छ ।
दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।