राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८२ फागुन १७, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि काभ्रेपलाञ्चोक जिल्लाबाट कायम हुने अस्थायी मतदाताको सूची टुंगो लगाएको छ ।
अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लामा संकलन गरिएको २४८१ जना अस्थायी मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश हुनेछन । साथै ज्येष्ठ नागरिक आश्रम लगायतका स्थानमा रहेका नागरिकहरु पनि अस्थायी मतदातामा समावेश हुनेछन् ।
जिल्लाका लागि अस्थायी मतदानका लागि मतदान स्थलमा खटिएका प्रहरी, कर्मचारीहरुले सोही स्थानमा र कैदीबन्दीहरुले जिल्ला कारागार कार्यालय काभ्रेमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन ।
जिल्लामा कूल तीन लाख २६ हजार ६११ मतदाता छन् । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले काभ्रेमा रहेका ४०० मतदान केन्द्रमध्ये ८८ मतदानस्थल संवेदनशील रहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख कोमल शाहका अनुसार ८८ मध्ये पनि २३ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेको जानकारी दिए ।
उनका अनुसार अतिसंवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिनेछ । जिल्लामा दुई हजार ९० जना निर्वाचन प्रहरी, एक हजार ११९ नेपाल प्रहरी, ३५० सशस्त्र प्रहरी र हरेक मतदान स्थलमा रहनेगरी नेपाली सेना परिचालन भएको छ ।
काभ्रेपलाञ्चोकमा कायम तीन लाख २६ हजार ६११ मतदातामध्ये एक लाख ६७ हजार ४९९ पुरुष र ५९ हजार ११० महिला र दुई जना अन्य लिंगका छन् ।