राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ असोज १८ बुटवल । रुपन्देहीको तिलोत्तमास्थित घरबाट अपहरणमा परेकी १० वर्षीया बालिकालाई प्रहरीले ३८ घण्टापछि जंगलबाट सकुशल उद्धार गरेको छ । बालिका अपहरणको आरोपमा प्रहरीले एक युवकलाई जंगलबाटै गोली हानेर नियन्त्रणमा लिएको छ ।
गत बुधबार तिलोत्तमा नगरपालिकाकी ती बालिका राति घरमा सुतिरहेको अवस्थामा अपहरणमा परेकी थिइन् । घरबाहिर हजुरबुबा र हजुरआमा सुतिरहेका बेला बालिका भाइसँगै कोठामा सुतिरहेकी थिइन् । राति करिब २ बजे ओढ्ने ओढाइदिन जाँदा बिस्तारामा बालिका नभेटिएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो ।
सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानैदेखि गाउँ आसपास तथा स्थानीय जंगल क्षेत्रमा खोजी थालेको थियो । बिहीबार दिनभर र रातिसम्म खोजी गर्दा पनि बालिका नभेटिएपछि शुक्रबार बिहानैदेखि प्रहरीले जंगल क्षेत्रमा खोजी केन्द्रित गरेको थियो ।
खोजीका क्रममा शुक्रबार साँझ करिब ७ बजे तिलोत्तमाकै कान्छीबजारस्थित जंगलबाट प्रहरीले ती बालिकालाई सकुशल उद्धार गरेको हो । प्रहरी स्रोतका अनुसार अपहरणकारीले घरबाट बालिकालाई उठाएर जंगलमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जंगलमै करिब ३८ घण्टा रहेकी बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको थियो ।
बालिका उद्धार गरिए पनि अपहरणमा संलग्न युवक भने फरार थिए । उद्धारस्थलमा भेटिएको मोबाइललगायत प्रमाणका आधारमा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गरेको थियो । उनी तिलोत्तमा नगरपालिका–१७, दरखसवाका २७ वर्षीय विशाल भन्ने युवराज थारु रहेको प्रहरीले जनाएको छ ।
बालिका उद्धारपछि पनि थारु जंगलमै लुकेर बसेको आशंकामा प्रहरीले खोजी जारी राखेको थियो । सोही क्रममा आइतबार राति करिब १ बजे उनलाई जंगलबाटै नियन्त्रणमा लिने प्रयास गरिएको थियो । प्रहरीका अनुसार, नियन्त्रणमा लिने क्रममा थारु प्रहरीमाथि नै जाइलागेपछि एक राउन्ड गोली प्रहार गरिएको थियो । गोली उनको खुट्टामा लागेको छ ।
उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवस्तवले जानकारी दिए ।बालिकालाई उद्धार गरेपछि अस्पताल लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले प्रहरीको निगरानीमा रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।