राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २ चैत्र, २०८२
२०८२ चैैैत्र २, काठमाडौं। नेपालको स्वास्थ्य बीमा प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन अब राष्ट्रिय परिचयपत्रकै आधारमा स्वास्थ्य बीमा सेवा उपलब्ध हुने भएको छ । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सोमबार यससम्बन्धी महत्वपूर्ण समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
यस समझदारीअनुसार अब नागरिकको पहिचान डिजिटल रूपमा राष्ट्रिय परिचयपत्र नम्बरमार्फत प्रमाणीकरण गरिनेछ । यसबाट स्वास्थ्य बीमा प्रणाली अझ सुरक्षित, छिटो र विश्वसनीय हुने विश्वास गरिएको छ । बोर्ड र विभागको तथ्याङ्कलाई एकीकृत गरेपछि बिमितहरूले उपचारका लागि अस्पताल जाँदा छुट्टै स्वास्थ्य बीमा कार्ड बोक्नुपर्ने झन्झट हट्नेछ ।
बोर्डका अनुसार आगामी चैत २५ गतेदेखि स्वास्थ्य बीमाको नयाँ दर्ता र नवीकरण राष्ट्रिय परिचयपत्रकै आधारमा हुनेछ । यसअघि नागरिकता वा चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा बीमा गर्ने गरिएकोमा अब राष्ट्रिय परिचयपत्रलाई नै मुख्य आधार बनाइने भएको हो ।
यो व्यवस्थाले बीमा सेवामा हुनसक्ने दोहोरोपना र दुरुपयोगलाई नियन्त्रण गर्न ठूलो भूमिका खेल्ने बताइएको छ।स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कअनुसार हाल नेपालभर १ करोड २ लाख भन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन् ।