राष्ट्रिय सन्देश संबाददाता, २० घण्टा पहिले
२०८३ असोज ०५ झापा । कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्दै गएको छ । प्रदेशका १३ जिल्लामा फैलिएको डेंगुबाट झापा जिल्ला सबैभन्दा उच्च जोखिममा परेको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृती लुइँटेलका अनुसार सेप्टेम्बर १९, २०२६ सम्मको तथ्यांकअनुसार प्रदेशभर कुल ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
सङ्क्रमितमध्ये झापामा मात्रै हालसम्म २२८ जना फेला परेका छन् । दोस्रो धेरै सङ्क्रमित रहेको सुनसरीमा २०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार ओखलढुंगामा १२२ र खोटाङमा ८२ जना डेंगुका बिरामी भेटिएका छन् । यसैगरी, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसै अवधिमा विभिन्न जिल्लाका अस्पतालहरूमा ५१ जना सम्भावित र दुई जना शङ्कास्पद डेंगुका बिरामी उपचाररत रहेको जनस्वास्थ्य अधिकृत लुइँटेलले जानकारी दिए । डेंगुको जोखिम तीव्र रूपमा बढेकाले लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।