राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १९ श्रावण, २०८२
२०८२ साउन १८, काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले अनसन तोडेका छन् । माइतीघर मण्डलामा अनसनरत मेयर भट्टराईलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आइतबार जुस खुवाएर अनसन तोडाएका हुन् ।
गत आइतबारदेखि स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै सात बुँदे मागसहित अनसन सुरु गरेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा आज विभिन्न मागमा समझदारीपछि अनशन अन्त्य गरिएको हो ।
सहमति पत्रमा निमार्ण कार्यमा बाँसको प्रवद्र्धन गर्न शहरी विकास मन्त्रालयबाट बाँस भवन संहिता र नम्र्सलाई अन्तिम रुप दिई ४५ दिनभित्र स्वीकृत गरी लागु गरिने भनिएको छ ।
बाँस, स्वदेशी काठ वा नेपालमा उत्पादित वस्तु वा सामग्री खरिद गर्ने, पहिलो चरणमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका सबै निकायमा प्राथमिकताका साथ स्वदेशी वस्तुको खरिद र प्रयोग बढाउने, सरकारबाट स्वीकृत निर्देशिका तदारुकताका साथ कार्यान्वयन गर्नेलगायत विषय समझदारी पत्रमा समेटिएका छन् ।
यसैगरी बाँस तथा बेतको अध्ययन अनुसन्धानमा जोड दिने, रैथाने एवम् परम्परागत ज्ञान, सीप र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने, सरोकार भएकाहरूमा प्रविधि, पूर्वाधार र प्राविधिक ज्ञान र सीप विकास गर्ने, यस्ता उत्पादनको प्रचारप्रसार, बजारीकरणमा सहयोगलगायत प्रोत्साहनसहितका कार्यक्रम तीनै तहका सरकारले संचालन गर्ने, गराउने विषय पनि समझदारी पत्रमा उल्लेख छ ।