राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १९ माघ, २०८२
२०८२ माघ १८, दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आइतबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.श्याम लम्साल र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान हो ।
प्रतिष्ठान प्रशासनका अनुसार, यसअघि राप्ती अञ्चलसहित पश्चिम नेपालका नागरिकले क्यान्सरसम्बन्धी उपचारका लागि चितवन, काठमाडौँ जस्ता शहरमा महँगो शुल्क तिरेर जानुपर्ने बाध्यता रहेको थियो । तर सम्झौता कार्यान्वयनमा आएपछि स्थानीय स्तरमै उपचार सुविधा उपलब्ध हुने भएपछि समय र खर्च दुवै बचत हुने छ ।
उपकुलपति प्रा लम्सालले विश्वास व्यक्त गर्दै भने, “यस सम्झौता कार्यान्वयनमा आएपछि राप्ती अञ्चलसहित पश्चिम नेपालका नागरिकले गुणस्तरीय क्यान्सर उपचार सेवा स्थानीय रूपमा पाउनेछन् । यसले स्वास्थ्य सेवामा पहुँच बढाउने र सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनेछ।”
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, स्थानीय उपचार सुविधा उपलब्ध हुँदा बिरामीको यात्रा कम हुने, आर्थिक बोझ घट्ने र रोगको समयमा उपचार शुरु गर्ने अवसर बढ्नेछ । यस प्रकारको सहकार्यले स्वास्थ्य प्रतिष्ठानहरूको क्षमता वृद्धिमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सो सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ ।