सोमबार, १८ फाल्गुन, २०८२

युवा परदेशी कार्यकर्ता र राजनैतिक संजालकर्ता को अराजक प्रवृत्ति

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ फाल्गुन, २०८२

युवा परदेशी कार्यकर्ता र राजनैतिक संजालकर्ता को अराजक प्रवृत्ति

युवा नेतृत्वको विषयमा सामान्य प्रश्न गर्न खोज्ने व्यक्तिहरूलाई श्रद्धाञ्जलीको ओइरोसँगै भावनात्मक र मानसिक रूपमा दखल पुग्ने गरी आलोचना हुन थालेको छ । नीति, नारा, भीड, विचार, विधि, विधान केही बुझ्नसम्म नखोज्ने र नयाँले देश चलाउनुपर्ने माग राख्नेहरू अधिकांश वैदेशिक रोजगारीमा रहेका छन् । वर्तमान नेपालको धुरमुराउँदै गरेको राजनीतिक अवस्थालाई हेर्दा सामाजिक सञ्जालमा आलोचना गर्नु नै प्रमुख एजेन्डा बनेको छ । सामाजिक सञ्जालमा धेरै पोस्ट गर्ने र कमेन्टमा अपशब्द भाषामा आफ्नो अभिव्यक्ति दिनेहरू अधिकांश विदेशमा रहेका छन् । पुराना फाल्नैपर्छ भन्ने बुलन्द आवाजको लगभग ८० प्रतिशत आवाज परदेशबाट आएको छ ।

गाउँघरको विकास, सरकारको नीति, संवैधानिक व्यवस्था, बजेट विभाजन लगायतका कुरा कसैलाई केही पनि ज्ञान नराखी युवाको जोसको माग गरिएको छ । यस्तो सामान्य बुझाइ र धारणामा नेपालको विकासको परिकल्पना गर्नु आफैंमा अपूर्ण कुरा हो । सांसदको काम संविधान निर्माण र कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गरी देशलाई सुशासनमा लैजाने भन्ने भाषालाई समेत नबुझी मूलबाटो, पानीको धारा र पाटीपौवा निर्माणमा ध्यान नदिएको भन्दै आलोचना गर्ने युवाहरू थुप्रो लागेर पुरानालाई फालौँ, नयाँलाई अँगालौँ भन्दै छन् । यसले देशको सुशासन र न्याय व्यवस्थामा गम्भीर असर पर्ने देखिन्छ। सामाजिक सञ्जालमा धेरै चासो राखेर पक्ष र विपक्ष भन्दै आलोचना गर्ने युवाहरू तुलनात्मक रूपमा प्रदेशी रहेका र नेपालमै भएर पनि मतदाता परिचयपत्र नभएकाहरू छन् । राजनीतिक चेतना नभएका र विधि विधानको विषयमा नबुझी आफ्ना मनगढन्ते धारणा सञ्जालमा राख्नेहरू यसरी मौलाउने हो भने आउने सरकारले पहिलो काम सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने देखिन्छ ।

सामाजिक सञ्जालमा पुराना भन्दै  प्रतिपक्षी पार्टीहरूलाई अभद्र गाली गर्दै हिँड्ने मित्रहरूको एक दिन ऐनामा हेरेर आफ्नै अनुहारमा थुक्ने दिन नजिकै आइसकेको छ। सामाजिक सञ्जालमा आ-आफ्ना पार्टीको भजन गाएर नथाक्ने राजनीतिक सञ्जालकर्ताहरूले सत्ता समीकरण हुँदा उच्च नेतृत्वले अँगालो हालेको दिन के गर्ने होलान्?

वर्तमान राजनीतिक भाषामा चर्चा भइरहेको पुरानाहरूको खराब प्रवृत्ति भन्दै त्यस्तै व्यवहार देखाउने नव युवा राजनीतिकर्मीहरूमा पनि खासै सुधारिएको चेतना देखिँदैन । राजनीतिक नेतृत्व सुधार हुन सबैभन्दा पहिले समाज र जनताको चेतनामा सुधार हुनुपर्छ । वर्तमान अवस्थामा समाजको चेतना पहिलाको भन्दा झन् खस्किँदो अवस्थामा छ ।

हल्ला र भीडलाई सम्बोधन गरेर भोट हालियो भने त्यहीअनुसारका नेता सांसद हुन जान्छन् । पछि पछुताउनुपर्ने हामी जनता नै हौँ। सम्झिनुहोस्, सिरिसको बोटमा अमला फल्दैन । जे रोपिन्छ, त्यही फल लाग्ने हो । हामीले जस्तो ठाउँमा मतदान गर्छौँ, त्यस्तै परिणाम हुन्छन् । त्यसैले आगामी ५ वर्ष कसैलाई गाली गर्न नपर्ने होस् ।

जो चर्को बोल्न सक्छ, जसले स्पष्ट प्रश्न राख्न सक्छ, जुन व्यक्तिले अरूको खण्डन गर्न सक्छ, त्यसैलाई चुनावमा भरोसा गर्ने र पछि पछुताउने हाम्रो पुरानो चलन छ। आगामी दिनमा पनि त्यही अवस्था दोहोरिने निश्चित देखिएको छ । आफैले भोट हालेर चयन गरेको नेतृत्वलाई चुनावको भोलिपल्टबाट नै गाली गर्न नखोजौँ, त्यहाँ गल्ती हाम्रै छ ।

नेपाली मिडियामा देखिएका राजनीतिक सञ्जालकर्ताबाट परिपक्व नेतृत्व निस्किन्छ भन्नेमा म अझै विश्वास गर्न सक्दिनँ । बाँकी कुरा समयले जानकारी दिनेछ ।

advertisement_1676553908.gif