राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ भदौ १२ साउदी अरब । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबले १० लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विभागमा आबद्ध पदाधिकारी तथा सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विभागका सभापति भुपाल भण्डारीले जानकारी दिए ।
सभापति भण्डारीका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको हो । उनले अभियानमा योगदान गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई धन्यवाद दिँदै सहयोगीहरूको नामावलीसहित रकमको विवरण सार्वजनिक गरिने बताए ।
प्रवासमा रहेका नेपालीहरूले मातृभूमिमा आइपरेको विपद्का बेला गरेको यस सहयोगले मानवीय एकता, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको छ ।
यसैबीच, साउदी अरबमा रहेका विभिन्न नेपाली संघसंस्था तथा नेपाली समुदायले समेत बाढी तथा पहिरो प्रभावितका लागि राहत र उद्धारमा सहयोग पुर्याउन आर्थिक संकलन अभियान सञ्चालन गरिरहेका छन् ।