डा. श्रीकृष्ण पन्थी, मंगलवार, २१ चैत्र, २०७९
महात्मा गान्धीले भन्नु भएको थियो – विद्याकासाथ जीवनको आर्दश केही उच्च हुंदैन भने पढ्नु व्यर्थ छ । अर्थात् परीक्षामा राम्रो अंक ल्याउनु र जागीर खानु मात्र शिक्षा, ज्ञान वा डिग्री हांसिल गर्नुको उद्देश्य होइन । शिक्षित व्यक्तिको खाने, बस्ने, सोच्ने, बोल्ने, काम गर्ने तौर तरिका पनि बेग्लै हुनुपर्छ, अनुकरणीय, सुसंस्कृत र आदर्शमय हुनुपर्छ तब मात्र शिक्षा प्रणाली र शिक्षित समुदायबाट समाज र देशले केही पांउछ अन्यथा शिक्षित तथा बौद्धिक बर्ग पनि समाजको बोझ र कलंकको रुपमा पनि रहन सक्छ ।
सामान्य बोलिचालीको भाषामा सँस्कृति भनेको संस्कार, चलन चल्ती र बोली ब्यवहार भन्ने बुझिन्छ । दैनिक जीवनमा सँस्कृतिको अर्थ नजान्नेले पनि सँस्कृतिको अवलम्बन्, निर्माण, संरक्षण र हस्तान्तरण गरिरहेकै हुन्छन् । त्यसैले सँस्कृति भनेको मानव व्यवहारको सिकिएको अंश हो जुन स्वीकार गरिन्छ, सिकाइन्छ र हस्तान्तरण पनि गरिन्छ । सँस्कृति मानव जीवनको, सामाजिक, भौतिक, जैविक र प्राकृतिक उपक्रम पनि हो किनकी मानिसले ठांउ र मौसम अनुसारको सँस्कृति निर्माण गरेको हुन्छ । वास्तवमा सँस्कृति भनेको व्यक्ति र समाजले स्वीकारेका साझा व्यवहार र प्रत्यक्षीकरण हो जहां व्यक्ति तथा समाजले एक निश्चित साँस्कृतिक प्रतिरुपको विकास गर्छ । त्यही प्रतिरुपअनुसार नयां पिंढीले व्यवहारलाई परिवर्तन गर्दै जान्छन् जहां सँस्कृति सिक्ने, सिकाउने र स्थानान्तरण गराउने कार्य हुन्छ । Ralph Taylor का अनुसार सँस्कृति समाजका सदस्यहरूले एक सन्ततीबाट अर्को सन्ततीमा स्थानान्तरण गर्ने, बांडफांड गर्ने, सिक्ने र विचारहरू सँग्रह गर्ने व्यवहारहरूको जीवनशैली हो । सँस्कृतिले नै सभ्यताको निर्माण गर्ने हुंदा विकासकालागि साँस्कृतिक पक्षको विकास महत्वपूर्र्ण छ । मौलिक सँस्कृतिको विकासले मात्र मौलिक सभ्यताको परिचय दिन्छ त्यसैले साँस्कृतिक विचलनप्रति समाज खांसगरि शैक्षिक क्षेत्र सधै सजग रहनु आवश्यक छ ।
साँस्कृतिक विचलन भन्नाले समाज वा समूहको स्थापित साँस्कृतिक मापदण्ड वा मूल्यमान्यताबाट विस्थापन हुनु भन्ने जनाउंछ । यो तब हुन्छ जब व्यक्ति वा समूहले बिभिन्न कारणले स्वीकार्य साँस्कृतिक मान्यता, परम्परा, विश्वास, वा चलनहरू विरुद्ध जाने सोंच तथा व्यवहार व्यक्त गर्दछ । साँस्कृतिक विचलनले धेरै रूपहरू लिन सक्छ, जस्तै अपरंम्परागत लुगा लगाउने, वैकल्पिक जीवनशैलीमा भाग लिने, गैर–परम्परागत धर्महरूको अभ्यास गर्ने, कलात्मक अभिव्यक्तिको अपरंम्परागत रूपहरूमा संलग्न हुने, वा पैसाको लोभमा वैकल्पिक लैङ्गिक पहिचान वा यौन अभिमुखीकरणहरू अपनाउने । साँस्कृतिक विचलनको डिग्री सानो र प्रत्यक्ष हानिरहित भएपनि यसले महत्वपूर्ण, विघटनकारी परिवर्तनहरूमा जोडदिई यथास्थितिलाई चुनौती दिन्छ र पछि परिवार तथा समुदाय भित्रै विवाद, झगडा तथा द्वन्द्व उत्पन्न गर्दछ । केही साँस्कृतिक विचलनले साँस्कृतिक विविधता र साँस्कृतिक विकासलाई पनि टेवा दिनसक्छ, किनकि यसले समाजको खराब रुढीवादी साँस्कृतिक मान्यता र मूल्यहरूलाई चुनौती दिने र नयां विचार विस्तार गर्ने र नयां दृष्टिकोणहरूको अभिव्यक्तिको लागि अनुमति दिन्छ । तथापि केही साँस्कृतिक विचलनहरू विचलित वा हानिकारक मानिन्छन् र आयातित् सँस्कृतिलाई प्रभावशाली सँस्कृति भनेर मौलिक सँस्कृतिलाई कलंकित वा अपराधीकरण गरिन्छ । यसलाई अभिनव वा प्रगतिशील रूपमा मनाइन्छ । मौलिक सँस्कृति हिरा हुंदाहुंदै कमसल सँस्कृतिको अनुसरण गरिन्छ जसले कालान्तरमा आफ्नै पहिचान गुम्दछ । उदाहरणका रुपमा गन्धर्व समुदाय आफ्नो परम्परागत संगित पेसा तथा सँस्कृति छाड्दै अन्य पेसाहरूमा रुपान्तरित भैइरहेका छन् जुन् बाहिरबाट हेर्दा विकास जस्तो देखिएतापनि वास्तवमा त्यो विचलन नै हो । विचलनले जहिलेपनि स्थानान्तरण गराउंछ तर हामीले खोजेको रुपान्तरण हो । जस्तो रुपान्तरणले गन्र्धवलाई सँगीतकार र विश्वकर्मालाई ईन्जिनियर बनाउंछ र पेसालाई अझ उत्पादनशील, सुसस्कृत र सम्मानित बनाउंछ भने स्थानान्तरणले सँस्कृति र पहिचानलाई बचाउन सक्दैन् ।
साँस्कृतिक विचलनको विकसित रुप साँस्कृतिक बिकृति हो । हिजो आज विभिन्न कारणहरूले समाजको हरेक तह र तप्कामा निराशा, नकारात्मकता र बिकृत मनोविज्ञान हाबी हुंदै गएको छ । फलस्वरुप मानिस आफ्नो मौलिक मूल्य मान्यता, परम्परा र सँस्कृतिबाट पर–पर भागिरहेको छ । यस्तो बिचलित मनोविज्ञान शिक्षित र सचेत समुदायहरूमा पनि ब्याप्त देखिन्छ । एउटा व्यक्तिगत लाभ र दम्भका निम्ति पेशागत दायित्व, मर्यादा, मिहेनत र विकासलाई थांति राखेर मानिस धन र प्रतिष्ठा कमाउने सजिलो बाटो रोज्ने गरेको पाइन्छ जुन बर्तमान समाजको मुख्य बिशेषता नै हो । सजिलो बाटोको अनुसरण गर्दा मानिस बिभिन्न किसिमका बिकृतिहरू जस्तैः चोरी, चाकरी, दलाली, भ्रष्टाचार, ठगी मात्र नभै बलात्कार, अपहरण र व्यक्ति हत्या जस्ता अपराधहरूमा समेत मानिसहरूको संलग्नता बढीरहेको देखिन्छ । यस्तो कार्य एक शिक्षित सभ्य समाज र व्यक्तिकालागि पटक्कै सुहाउने कुरा होइन तर पनि हाम्रो समाजमा यस किसिमको बिकृति दिनप्रतिदिन संस्थागत रुपमा विकास हुंदै गएको छ त्यसैले साँस्कृतिक बिकृति (cultural perversion) बर्तमान समाजको एक प्रमुख समस्या हो । यस्तो बिकृति साँस्कृतिक विचलन (cultural deviance) कै परिणाम हो ।
विचलन भनेको प्रचलित सामाजिक मूल्य मान्यताहरूको उलंग्न हो र एक शैक्षिक चुनौती पनि हो । संरचनात्मक कार्यवादी समाजशास्त्रीहरूका अनुसार खराब र असहज मूल्य मान्यताहरूको सम्बन्धमा विचलन एक स्वभाविक प्रक्रिया हो जस्ले समाजमा गतिशीलता तथा रचनात्मक भूमिका पनि निर्बाह गर्न सक्दछ । अतः विचलनलाई कसरी सकारात्मक, सन्तुलित र उत्पादनमूलक बनाउने भन्ने बिषय नै हाम्रो बर्तमान समाज र शिक्षा प्रणालीको प्रमुख मुद्दाको रुपमा देखिएको छ ।
अहिले हाम्रो समाजमा देशको भविष्य बोकेका अधिकांश युवाहरू कक्षा १२ पास गर्ने बित्तिकै बिदेश जाने तयारी गर्दछन्, घरपरिवार र समाजको परिबेश नै यस्तो बनेको छ कि मानौ उ पढ्न वा धन कमाउन बिदेश गएन भने उ एक असक्षम र अयोग्य मानिस हो । यतिसम्म कि बिहे गर्नकोलागि पनि बिदेश गएको, भिसा लागेको वा बिदेश तिर जाने आउने गरेको, डि भि परेको वा देश भित्र प्रशस्त कमाउने गरेको फेहरिस्त पेश गर्नुपर्छ । तर कमाइ कसरी गरेको छ भन्नेतर्फ बुझिदैन वा बुझ्ने प्रयास नै गरिदैंन् । बाबु आमाहरू पनि छोरा छोरी बिदेशमा छन् भनेर छिमेकीलाई रवाफ लगाउन पाउंदा दंग छन् भलै उनीहरूलाई बिरामी पर्दा घरमा पानी खुवाउने सदस्य नै कोही नहुन् । समाजमा यस्तो भ्रम फैलाइएको छ कि विदेशी भाषा, प्रविधी, ज्ञान र वस्तुहरू मात्र गुणस्तरीय छन् । हाम्रो समाजको तुलनामा हरेक कुरामा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान जस्ता देशहरू निकै विकसित छन् र त्यहाको जीवन निकै सजिलो र सुखमय छ । यस्तो भ्रम फैलाइएको छ जुन एक भ्रम मात्र हो । भौतिक विकासको दृष्टिले ति देशहरू विकशित होलान् तर मानसिक स्वास्थ्य, रंगभेद, सामाजिक अपराध, हत्या हिंसा, लागूपर्दार्थ दुव्र्यसनी, यौनजन्य हिंसा, मनोबैज्ञानिक त्रास, अशान्ति, पारिवारिक बैमन्श्यता, डिप्रेशन, आदि बिभिन्न दृष्टिहरूले हेर्दा ति देशहरू हाम्रो देश नेपाल भन्दा कैयौं गुणाले पछि छन् । तसर्थ हामी आम नेपालीहरूको बुझाइ र पश्चिमी देशहरूले भनेझै गरिव, दरिद्र, पाखे, केही नभएको केही नजान्ने कुरा सांचो होइन । हामी कमजोर छौ भन्ने मानसिकता हामीले त्याग्नै पर्दछ ।
आज हामीसँग जे छ त्यो पश्चिमेली राष्ट्रहरूसँग छैन । हामीसँग भएको प्राकृतिक सुन्दरता, धर्म, सस्कृति, मूल्य मान्यता, सामाजिक परम्परा, मौलिक परम्परागत ज्ञान सीप, वातावरणमैत्रीय संस्कृति र ज्ञान नै हाम्रा सम्पतिहरू हुन् जुन हाम्रा लागि पुर्खाहरूले निकै ठूलो तपस्या र कुर्वानी गरेर आर्जन गरेका थिए । हाम्रो पहिचान भन्ने कुरा पनि पुर्खाले दिएका यस्ता सम्पतिहरूको संरक्षण र विकास गरेमा प्राप्त हुन सक्दछ । बिदेशी पेय पदार्थ तथा खाना खाएर, महंगो गाडी चढेर, विलासिताको जिवन विताएर, भडकिलो फेसन गरेर, पटपट अंग्रेजी बोलेर र मोबाइल तथा कम्म्युटर चलाएर मात्र हामी शिक्षित र सभ्य हुन सक्दैनौ । उदाहरणका लागि त्यसको परिणाम एक पटक हेरौ । तपाई हामीहरूले आफ्ना नानी वावुहरूलाई महंगो स्कुलमा अंग्रेजी र कम्प्युटर सिकायौ, पुर्खाले दिएको संस्कार सिकाएनौ त्यसैले पारिवारिक वेमेल बढीरहेको छ । नाती नातीनाहरू बाटोमा सँगै हिड्न लजाउंछन् । छोरा बुहारीले घर छाडेर एक्लै बस्न थालेका छन्, श्रीमान श्रीमतीबीच सानो विवादमा पनि पारपुचके दिने चलन बढिरहेको छ । समाजमा असल साथी भेटन वा बनाउन सकिने अवस्था छैन । अविश्वासको दूरी यति फराकिलो भएको छ कि आमाबुबाले छोरा छोरीलाई पनि घरको सांचो जिम्मा लगाएर वाहिर जान सक्दैनन् । पढेलेखेका टाठाबाठाहरू प्रायः सवै विदेशिन थालेका छन् । अधिकांस ग्राजुएट्स, डाक्टर, इन्जिनियरहरू स्वदेशमा पढछन् र विदेशमा काम गर्दछन् र उतै बसोवास गर्न रुचाउदछन् । त्यसैले बर्तमान समयमा देशको शिक्षाको प्रमुख चुनौति गुणस्तरीय शिक्षा नभै शैक्षिक जनशक्क्ति टिकाउन नसक्नु हो र बढ्दो साँस्कृतिक विचलन रोक्न नसक्नु हो अर्थात् शैक्षिक प्रभावलाई सम्बोधन गर्न नसक्नु नै प्रमुख समस्या तथा चुनौति हो । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा नैतिक चरित्र र देशभक्क्तिपनको खडेरी भएका कारण यसो भएको हो । राष्ट्रसेवकहरू स्वदेशमा सचिवको जागिर खानु भन्दा डिभि चिट्ठामा अमेरिकामा गई मेत्तरको जागिर खान मै गर्व गर्दछन् । अनि हामी नागरिक समाज तथा अभिभावक भनाउंदा पनि त्यस्तै छौं विदेशमा जानू, काम गर्नु विदेशी सामानको उपभोग गर्नु मै गौरव गर्दछौ । छोराछोरीलाई बिदेश पठाइ आफ्नो दैनिक पारिवारिक सम्वन्धलाई मात्र नभै गौरबशाली इतिहास, संस्कार, सँस्कृति र पहिचान नै मेटाईरहेका छौ ।
यसरी रोक्नुपर्ने यस्तो गंभीर समस्या साँस्कृतिक विचलन र बिकृति आखिर किन बढीरहेको छ, यसको कारण के हो ? कसरी यस किसिमको विचलनबाट उन्मुक्ती पाउन सकिन्छ ? कस्तो शिक्षा प्रणाली, संस्कार र सँस्कृतिको आवश्यकता छ र त्यस्तो शिक्षा कसरी विकास गर्न सकिन्छ भन्ने सवाल नै बर्तमान शिक्षा प्रणाली र नेपाली समाजको मुख्य सवाल तथा मुद्दा हो ।
सांस्कृतिक विचलनका कारणहरू धेरै हुन सक्छन् तथापि प्रमुख कारक तत्व भनेको हाम्रो गलत सामाजिक नीति, संस्कार, सँस्कृति र शिक्षा नै हो । कतिपय सैद्धान्तिक छन् जुन विकासको क्रममा स्वभाविक रुपमा देखा पर्दछन् त कतिपय व्यवहारिक छन् जुन परम्परागत संस्कृतिको बिश्लेषणको आधारमा देखापर्दछन् । त्यस्ता कारण वा प्रभावहरूमध्ये साँस्कृतिक बहाव (cultural flow), पदर्शनात्मक प्रभाव (demonstrative effects), बैदेशिक रोजगारी (foreign employment), र पाठ्यक्रम (curriculum) आदि मुख्य देखिन्छन् । त्यस्तै विचलनको जैविक सिद्धान्त (biological theory of deviance) ले सामाजिक बिकृतिको मुख्य कारण जैविक तत्वलाई मानेको छ । श्रीनिवाशको साँस्कृतिकरण सिद्धान्त (Sanskritization theory) ले साँस्कृतिक बहाव (cultural flow) जहिले पनि विकसितबाट विकासशीलतर्फ हुन्छ । यस सिद्धान्तअनुसार गरिब विकासशील देशले विकसित देशको सँस्कृतिको नक्कल गर्दछन् भने समाजमा जहिले पनि तल्लो जातीका भनिने गरिब, दलित वा अविकसित मानिसहरूले माथिल्लो जात भनिने मानिसहरूको सँस्कृतिको सिको गर्दछन् जस्तैः परम्परागत पेशामा परिवर्तन । फलस्वरुप बिभिन्न किसिमका सामाजिक आर्थिक बिकृतिहरू समाजमा देखा पर्दछन् । अर्थशास्त्रीहरू James Duesenberry, Ragnor Nursky, आदिले समाजमा व्यक्तिहरूको आफ्नो आर्थिक हैसियत वा क्षमता भन्दा बढी उपभोग प्रबृति देखाउने मनोविज्ञानको प्रर्दशन प्रभाव (demonstration effect) रहेको हुन्छ भन्ने सिद्धान्त अगाडि ल्याए । अर्थात् समाजमा केही मानिसहरूमा अरु भन्दा म के कम भन्ने भावना रहेको हुन्छ । उदाहरणको रुपमा आर्थिक क्षमता कमजोर भएका मानिसहरू पनि धनि छिमेकी सरह आफ्ना छोरा छोरीलाई बोर्डिङ्ग स्कूल पढाउने, इज्जतको सवाल भन्दै बिवाह आदि सामाजिक संस्कारहरूमा भड्किलो खर्च गर्ने जस्ता सँस्कृतिलाई लिन सकिन्छ । यस प्रकारको प्रभावले साँस्कृतिक असर मात्र नगरी आर्थिक असमानता पनि बढाइरहेको हुन्छ । यो समस्या नेपाली समाजमा एक मानसिक तथा सामाजिक रोगको रुपमा फस्टाईरहेको छ । त्यस्तै उत्तरआधुनिक जीवनशैली (postmodern lifestyle) का कारण पनि मानिसहरूको रुचि र व्यवहारहरूमा काफी परिवर्तन आएको छ । बर्तमान समाजमा मानविय सम्बन्धहरू पनि पैसामा किनबेच हुन थालेका छन् । बढ्दो पारिवारिक बेमेल, बिघटन यसैको परिणाम हो । त्यसतै अंग्रेजी भाषा तथा शिक्षाप्रतिको मोह (fascination towards english language or education) को कारण बालबालिकाहरू विद्यालयको पाठ्यक्रममार्फत बिदेशी सँस्कृतिको अनुसरण (acculturation) वा थाहै नपाई त्यस्मा सम्मीलन हुन पुग्दछ जस्तैः अंग्रेजी भ्यालेन्टाइन, नयांवर्ष, केक काटेर र बत्ती निभाएर बर्थडे सेलेबरेशन, आदि संस्कारहरू अनुसरण गरिरहेको छ । अर्को देशमा बस्ने प्रवासी (diaspora) डाएसपोराहरूमा यस्तो प्रभाव व्यापक देखिन्छ । त्यसैगरी मानिसहरू आफना झन्झटिला सँस्कृतिहरू भुल्दै (deculturation) गईरहेको अवस्था पनि छ । खांसगरि आदिवासीहरू, जनजातीहरू, दलितहरू आफ्नै सँस्कृतिका कारण समाजमा पछि परेको महशुस गरी पुराना सँस्कृतिहरू जोगाउने पक्षमा छैनन् जस्तैः गन्धर्वहरूको सँगीत पेसा वा सँस्कृति लोप हुने अवस्थामा छ । अर्कोतर्फ मानिसहरू वरिपरिको सँस्कृतिग्रहण (enculturation) गरिरहेको अवस्था पनि छ । खांसगरि खुला सिमानाको कारण तथा विभिन्न कारणहरूले मानिसहरूले आफूलाई वातावरणमा सजिलो ढंगले समायोजन गराउन असल ख।राब जे सुकै भएपनि सँस्कृतिग्रहण गर्नेगर्दछ । सँस्कृतिग्रहण पनि सँस्कृति अनुसरण जस्तै हो तर यो इच्छात्मक नभै बाध्यात्मक पनि हुन सक्छ । बालबालिकाहरू यसै प्रक्रियाबाट आफ्नो पारीवारिक सँस्कृतिको मान्यतामा सामाजिकीकृत (socialized) भैरहेका हुन्छन् । बैदेशिक रोजगारी नेपालमा साँस्कृतिक विचलनको अर्को प्रमुख कारण हो । बैदेशिक रोजगारीबाट फर्कीएका युवाहरूले आफूसँगै राम्रा नराम्रा सँस्कृतिहरूपनि बोकेर ल्याएका हुन्छन् । पारीवारिक बिछोडको पीडा, यौनिक आवश्यकता, तथा बिदेशको रमझमले आफ्नो मौलिक सँस्कृतिमा विचलन ल्याइरहेको हुन्छ । उ भित्र साँस्कृतिक अन्र्तबिरोध (cultural contradiction) पैदा हुन्छ । बिदेशमै आफ्नो सँस्कृति देखाउन खोज्छ तर विभिन्न कारणहरूले सक्दैन् । उ दोधार मै बांचिरहेको हुन्छ । एक मनले फर्केर गांउघरको सेवा गर्छु भन्छ तर अर्काे मनले उसलाई रोकिरहेको हुन्छ । जस्लाई आन्तरिक द्वन्द्व (internal conflict) पनि भन्ने गरिन्छ । यस कारणले पनि एक व्यक्ति साँस्कृतिक विचलनको स्थितिमा पुग्दछ । साँस्कृतिक विचलन कै अर्को प्रमुख कारण भनेको हाम्रो शैक्षिक पाठ्यक्रम (educational plan) पनि एक हो । हाम्रो शिक्षाको पाठ्यक्रम यस्तो छ कि जस्ले व्यक्तिलाई दिनप्रतिदिन परनिर्भर बनाईरहेको छ । आफू र आफ्नो स्तरलाई अर्कोसँग तुलना गर्नु, ससानो काम गर्न पनि नोकर चाकर वा सहयोगि राख्नु, खेतबारीमा काम नगर्नु, हलो नजोत्नु, गुण र कामको नभै व्यक्ति र उसको धन सम्पति तथा पदलाई सम्मान गर्नु, जस्ता बिकृतिहरू पनि हाम्रो समाजमा देखिएका छन् । हाम्रो समाजमा अहिले अंग्रेजी भाषाको अतिक्रमणले मौलिक शिक्षा र संस्किृतिको अस्तित्व नै संकटमा परेकोछ । उता पश्चिमेली देशहरूमा पूर्वीय संस्कृत भाषा, धर्म, सँस्कृति, शिक्षा, योग, दर्शन, आदिको लोकप्रियता बढीरहेको अवस्था छ ।
अब कसरी शिक्षाको माध्यामबाट यस्ता साँस्कृतिक विचलन वा बिकृतिहरूको नियन्त्रण गर्न सकिन्छ त भन्ने सवाल उठ्छ । शिक्षा व्यक्ति र समाज परिवर्तनको एक प्रमुख साधन हो । यसले सामाजिक साँस्कृतिक विचलन र बिकृतिलाई नियन्त्रण गर्न सहयोग गर्दछ तर स्वयम् शिक्षा प्रणाली यस्तो विचलनबाट पूर्णरुपमा अलग रहन भने सक्दैन किनकि शिक्षा सबै भन्दा परिवर्तनशील र गतिशील प्रणाली हो । शिक्षालाई सभ्य, संस्कारयुक्त र मौलिक ढंगले विकास गर्ने हो भने यसले परम्परागत मूल्य मान्यताहरूलाई प्रबर्धन गर्न र विकास गर्न सक्दछ । शिक्षाले मुख्यतया तीनवटा कार्यहरूः तटस्थ कार्य, प्रगतिशील कार्य, र क्रान्तिकारी कार्य गर्दछ । अर्थात् समाजका राम्रा मुल्य र मान्यताहरू, धर्म सँस्कृतिहरू र अन्य पहिचान झल्किने, साम्प्रदायीक सद्भाव र एकता कायम राख्ने बिषयहरूप्रति शिक्षाको भूमिका तटस्थ रहन्छ । व्यक्तिको जन्मसिद्ध अधिकार, जीवनोपयोगि सीप, र भौतिक सुख सुविधाहरूको बृद्धिप्रति शिक्षाले प्रगतिशील र कहिलेकांही क्रान्तिकारी भूमिका समेत निर्बाह गर्दछ । तर मुख्य सवाल के हुन्छ भन्दा मौलिक धर्म, सँस्कृति र परम्पराहरू प्रगतिशील हुन कि आयातित् पश्चिमेली सभ्यता र सँस्कृतिहरू प्रगतिशील हुन ? बर्तमान समाज र देशको शिक्षा नीतिले पहिल्याउन नसकेको बिषय वा शिक्षा अल्झिएको मुख्य मुद्दा नै यही हो । जापान, चीन जस्ता देशहरूले मौलिक भाषा, सँस्कृति कै माध्यामबाट भौतिक तथा आध्यात्मिक विकासको शीखरमा पुग्न सफल भए । आयातीत अंग्रजी शिक्षाको माध्यामबाट विकासको शिखर चढेने कोषिश गरिरहेको भारत र नेपाल जस्ता देशहरूले न शिक्षा न संस्कार कै राम्रो विकास गर्न सकेका छन् । बर्तमान शिक्षाले शैक्षिक उपलब्धि (educational achievement) लाई मात्र जोड दिएको छ, शैक्षिक प्रभाव (educational effect) लाई उपेक्षा गरेको छ, साँस्कृतिक पूंजि (cultural capital) निर्माणतर्फ जोड दिएको छैन । समाजशास्त्री Bourdieu को साँस्कृतिक पुनरुथान सिद्धान्त (theory of cultural reproduction) काअनुसार मध्यमबर्गीय परिवारका बालबालिकाहरूको शैक्षिक स्थिति राम्रो हुनुको प्रमुख कारण नै उनीहरूको साँस्कृतिक पूंजि उच्च रहनु हो । शिक्षाले साँस्कृतिक पुनरुथानतर्फ आवश्यक जोड नदीएको कारण पनि समाजमा साँस्कृतिक विचलन र बिकार बढ्दै गएको हो । अतः अबको शिक्षाले प्रतिस्पर्धा र आर्थिक पूंजि निर्माणतर्फ मात्र नभै आपसी सहयोग र साँस्कृतिक पूंजि निर्माणतर्फ बढी जोड दिनुपर्ने देखिन्छ । व्यक्ति र समाज विकासकालागि शिक्षा मात्र होइन संस्कार पनि उत्तिकै आवश्क छ । संस्कारयुक्त शिक्षाले नै विकास र पहिचान दुबै दिन्छ । पूर्वीय शिक्षा भनेको भौतिक विकास मात्र नभै आध्यात्मिक विकास पनि हो जस्मा दर्शन, ज्ञान योग, भक्त्ति योग, कर्म योग, राज योग जस्ता विषयहरू पनि सिकाइन्छ । त्यसैले परम्परागत गुरुकुल शिक्षामा योग, ध्यान, आयुर्वेद, भिक्षा, दिक्षाको समेत व्यवस्था थियो । त्यति मात्र होईन एउटै महाभारत कथाले विद्यार्थीलाई प्रजातन्त्र, राजनीति, कुटनीति, युद्ध नीति जस्ता विद्याहरूमा ज्ञान दिन सक्दथ्यो । हाम्रो मौलिक परम्परामा शिक्षाले ज्ञान दिन्थ्यो भने दिक्षाले त्यो ज्ञानलाई संस्कारयुक्त बनाउन सहयोग गर्दथ्यो । त्यसैले अब शिक्षालाई मौलिक संस्कारहरूसँग जोडेर मात्र साँस्कृतिक विचलन र बिकारलाई नियन्त्रण गर्न सकिन्छ । तर बिदेशी भाषा, सँस्कृतिहरूबाट प्रभावित भए समाजको मौलिकता, पहिचान सबै साँस्कृतिक विचलनसँगै हराएर जान्छ र एकदिन हामी नाभीको सुगन्धको खोजीमा दौडीरहेको मृग जस्तै भौतारिएर दौडीरहने छौं । त्यसबेला हामीसँग पश्चाताप शिवाय अरु केही बांकी रहने छैन । अर्थात् भौतिक सम्बृद्धि हासिल गरेको दिन हामी पलासको फूल जस्तै हुनेछौं ।
निष्कर्षमा भन्दा शिक्षा फूलको सौन्दर्यता हो भने संस्कार त्यस फूलको सुबास हो अर्थात् संंस्कारबीनाको शिक्षा सुगन्धबीनाको फूल जस्तै हो । साँस्कृतिक विचलन एक यस्तो बिकार हो जस्ले भएको सुगन्धलाई समेत नष्ट गर्दछ । हामी नेपालीहरू पनि हाम्रा पुर्खा तथा ऋषि, महर्षि र मुनिहरूले विकास गरेको अमृततुल्य ज्ञानरुपि सुगन्धबाट बन्चित तथा बिचलित भएको अवस्था हो । अतः शिक्षाको माध्यमबाट यसप्रकारको साँस्कृतिक विचलनलाई नियन्त्रण गर्न बर्तमान शिक्षालाई मौलिक परम्परा भित्रका तत्वज्ञान (metaphysics), आध्यत्मिक शिक्षा (spiritual education) र जीवनोपयोगि सीप (life skills) हरूसँग जोड्नु पर्दछ, । शिक्षालाई भूमण्डलीकरण (globalisation) होईन, स्वदेशी आवश्यकताअनुसार भूस्थानीयकरण (glocalisation) गर्नुपर्दछ । यसकालागि सर्वप्रथम हाम्रो बर्तमान पाठ्यक्रममा परिवर्तन गर्नुपर्दछ । बालबालिकाहरूलाई उत्तरआधुनिक सँस्कृति तथा बिदेशी अंग्रेजी भाषा सँस्कृति भन्दा मातृभाषा, मौलिक धर्म, सँस्कृति, शास्त्र, गर्बिलो ईतिहास, परम्परा, योग, ध्यान, दर्शन, आदि शिक्षातर्फ बढी जोड दिनुपर्छ । यस्तो शिक्षा विकासकालागि राज्यको मुख्य भूमिका रहन्छ भने व्यक्ति, परिवार, विद्यालय, र समाजको सहकार्य र सहयोग जरुरी रहन्छ ।
लेखक
डा. श्रीकृष्ण पन्थी, उपप्राध्यापक, पृथ्वीनारायण क्याम्पस, त्रि. वि., पोखरा ।
सम्पर्कः ९८५६०३३८८८,
ईमेलः shreepanthee@gmail.com