मंगलवार, ५ कार्तिक, २०८२

अँध्यारो बस्तीकी नायिका भित्रका नारीहरू।

लेक प्रसाद प्याकुरेल, मंगलवार, १६ आश्विन, २०८०

अँध्यारो बस्तीकी नायिका भित्रका नारीहरू।

                                                                                                                                                                                                                     कृति समीक्षा

बाँकेको साहित्यमा उदाउँदै गरेको साहित्यकारको परिचय हो दिला शाह । शारदा नगरपालिका–१५, सल्यानमा जन्मिएर नेपालगन्ज–१८ बाँकेलाई कर्मथलो बनाउँदै आएकी शाहले पछिल्ला समय जीवन निर्वाहको प्रमुख पाटोका रूपमा उद्योग व्यवसायलाई चुनेकी छिन् । सामाजिक एवं साहित्यिक गतिविधिमा उत्तिकै रुचि राख्ने शाह नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, भेरी साहित्य समाजको आजीवन सदस्य, महेन्द्र पुस्तकालय नेपालगन्जको आजीवन सदस्य, लुम्बिनी वाङ्मय प्रतिष्ठान बँंकेको सदस्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्जको अध्यक्ष, नेपाल स्वंयसेवी रक्तदाता समाज बाँकेको अध्यक्ष, बास नेपालको केन्द्रीय सचिव, नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको उपाध्यक्ष जस्ता जिम्मेवारीमा रही आफ्ना सामाजिक एवम् साहित्यिक गतिविधिहरुलाई अगाडि बढाउँदै आएकी छिन् । शाहले हालसम्म साहित्य क्षेत्र अन्तर्गत विशेषतः कथा लेखनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापत रु. १०,१११ (दश हजार एकसय एघार) राशीको सनत रचना कथा सम्मान तथा सशाँक पुरस्कार तथा सम्मान (२०७६) प्राप्त गरेकी छिन् । 

साहित्यकार शाहका फुटकर साहित्यिक  रचनाहरू कालपृष्ठ राष्ट्रिय दैनिक, दैनिक नेपालगन्ज, जनमत अद्र्ध साप्ताहिक, मिसन टुडे लगायतका पत्र–पत्रिकाहरुमा प्रकाशित छन् । दिला शाहको पहिलो पुस्तकाकार कृति “अँध्यारो बस्तीकी नायिका” कथासङ्ग्रह हो, जुन वि.सं.२०७९ चैत ११ का दिन बाँकेको नेपालगन्जमा विमोचन गरिएको थियो । लोकप्रिय नेपाली साहित्यिक पत्रिका साहित्यपोष्टको मूल्याङ्कन अनुसार साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार–२०७९ को तेस्रो स्थानमा छनोट भएको अँध्यारो बस्तीकी नायिका कथासंग्रह असोज ६ गते दश हजार एकसय एघार राशीको सनत–रचना कथा सम्मानबाट समेत पुरस्कृत भयो । यही अँध्यारो बस्तीकी नायिका कथा संग्रह शीर्षकको तहदेखि कथावस्तुका घटनाक्रमहरुमा नारी पात्रहरूको भूमिकालाई अब्बल बनाइएको आधारमा प्रस्तुत कृतिलाई थप बुझ्नका लागि कृतिभित्र प्रयुक्त नारी पात्रहरूको भूमिकालाई विभिन्न कोणबाट विश्लेषण गरिनु वाञ्छनीय ठहर्छ ।

अँध्यारो बस्तीकी नायिका  कथासंग्रह नारीहरूको कथा ब्यथाको सिंगो दस्तावेज बनेर आएको छ । कथासङ्ग्रहको आवरणमा नायिकाको तस्बिर राखेर नामकरणका तहमा नायिकालाई  महत्व दिएका कारण पनि कृतिभित्र परेका कथाहरूमा नारी प्रधान कथावस्तुको बाहुल्यता रहेको विषय सजिलै आँकलन गर्न सकिन्छ । शाहका कथाहरूमा नारी पात्र हजुरआमा, आमा, दिदी, बहिनी, सासू, बुहारी श्रीमती, प्रेमिका, नायिकाजस्ता अनेकन स्वरुपमा प्रस्तुत भएका छन् । संग्रहभित्र संग्रहित कथाहरुमा कहीं कतै नारी पात्र अत्यन्त सशक्त देखिन्छन् जसले अँध्यारो समाजलाई उज्यालोतर्फ डो¥याउन, प्रेतात्माहरूको बस्तीजस्तै लाग्ने जड समाजलाई चेतनाको समाजमा रूपान्तरण गर्न, अविकासको खाडलबाट  उठाएर विकासको गोरेटोतर्फ अग्रसर बनाउन तथा पुरुष जातिको पाशविक प्रवृत्तिमाथि प्रतिकार गर्ने क्रममा गरेका प्रयासहरू प्रशंसनीय छन् । यति हुँदाहुँदै पनि केही कथामा प्रस्तुत भएका जाविदा, रमा, देवा, माया दिदी, शीला लगायतका नारी पात्रहरू भने निरिह, कमजोर, विवशताको सिकार भएका, आफ्नै श्रीमानबाट कुटिएका, सासूससुराबाट हेपिएका र बाँच्नु भन्दा मर्नु बेश भन्दै मृत्युतर्फ उन्मुख भएका पात्रका रुपमा पनि देखापरेका छन् ।

खासगरी भूतको कथा, लोग्ने, जाविदा लगायत अधिकाँश कथाहरूमा श्रीमानले श्रीमतीलाई निर्मम भएर पिटेको कथाहरु त परेका छन् नै लोग्ने कथामा पूर्णे नामक राक्षसी स्वभाव भएको पुरुष पात्रले जबर्जस्ती गर्दा पेटमा आएको बच्चालाई उसैको धम्कीमा तुहाउनु परेको, आफैंलाई बलत्कार गर्ने बलत्कारीलाई नचाहेरै लोग्ने स्वीकार्नु परेको र त्यही लोग्नेले मरणासन्न हुने गरी कुट्ने गरेको वीभत्स दृश्य कथामा प्रस्तुत छ । त्यसैगरी “हुन त मर्नै चाहन्थें म तर हामीजस्ता दुखीलाई कालले पनि कहा पत्याउँछ र” भन्ने माया दिदीको भनाइ केन्द्रित कथावस्तु पढिरहँदा कतिपय पाठकहरु सजल भएर आउँछन् । अधुरो कथाकी पात्र देवा जो घर छँदा छँदै बेघर जस्तै भएर गोठमा सन्तान जन्माउन बाध्य छे । यहीकारण अधिक रक्तस्राव भएर अस्पतालको मुखसमेत हेर्न नपाई संसारबाट बिदा भएकी पात्र देवा पाठकको मनमा कारणिक पात्र भएर छाएकी छ । मूलतः यिनै नारी पात्रहरूले कथावस्तुका तहमा कारुणिकता सिर्जना गरेर पाठकको ध्यान केन्द्रित गरी कथाहरूलाई थप पठनीय बनाएका छन् ।

अँध्यारो बस्तीकी नायिका कथासंग्रह भित्रका केही कथाहरूमा नारी केन्द्रित कथावस्तु अन्तर्गत रहेर आमाहरू प्रति विशेष सम्मान प्रकट गर्नुपर्छ भन्ने मूल आशय व्यक्त भएका छन्  । “अलिकति आकाशमा, अलिकति वायुमा अलिकति अग्निमा अलिकति जलमा ...तर किन मसंग मात्रै छैनिन् मेरी आमा” भन्दै आमा प्रतिको सम्मानपूर्ण भाव अर्पण गरी कृतिकारकी पूजनीय माता स्व. देवा शाहमा समर्पण गरिएको  प्रस्तुत कृतिभित्रका  परदेशी छोरो, हजुरआमा, आमाको माया, आमाको मोल लगायतका कथाहरूमा आमाहरूको त्याग र बलिदानको भावना मुखरित भएको छ । आफ्नो नाक कान रित्याएर छोराको धोको पूरा गर्ने अथवा आफू भोकै रहेर छोराको पेट भरिंदा रमाउने ममतामयी आमाको कथा बनेर आएको परदेशी छोरो कथाले त्याग, समर्पण र ममताका प्रतीक आमाहरूप्रति उचित सम्मान प्रकट गर्न सुझाएको छ । हराएकी आमालाई खोज्न भौतारिएको छोराको पीडा बनेर आएको आमाको माया कथामा विगतका दिनहरुमा आमाले गरेका समर्पण हरुलाई बिर्सन खोज्दा आइपरेका कष्टहरु प्रस्तुत गर्दै अरुको लाख आमाको काख भन्ने उखान चरितार्थ भएको छ । कृतिभित्र परेको आमाको मोल कथाले आमाको ममता माथि प्रकाश पारेको छ ।

यस कथामा समय बितिसकेपछि गरिएको जस्तोसुकै माया र सतव्यवहारले पनि जानेहरुलाई रोक्न सकिँदैन त्यसैले आफ्ना पथप्रदर्शक अभिभावकहरू लाई समय छँदै न्यायपूर्ण व्यवहार गर्नुपर्छ । आफू रोएर भए पनि सन्तान हासेको हेर्न चाहने अभिभावकहरुका  निम्ति सन्तानहरूले उनीहरूको सुखदुःख बुझ्न अनि सन्चो बिसन्चो ख्याल गर्न कन्जुस्याइँ गर्नु हुँदैन भन्दै अहिलेका सन्तानहरुलाई साक्षात देवीहरूका पर्याय आमाहरूप्रति थप जिम्मेवार हुन सुझाएको छ ।

अँध्यारो बस्तीकी नायिका कथासङ्ग्रहमा परेका धेरैजसो नारी पात्रहरू विसंगतको सिकार भएका छन् यद्यपि केही पात्रहरूमा अस्तित्ववादी चेत समेत पाइन्छ । आफूले सोचे जस्तै जिन्दगी जिउन नपाएका कतिपय नारी पात्रहरू घरेलु हिंसा, बलत्कार, कुटपिटको सिकार हुँदा बाँच्न नचाहेरै बाँचिरहेका छन् । यहीनेर थोरै संख्यामा रहेका नारी पात्रहरू जसले आफ्नो अस्तित्व रक्षा गर्नका लागि समाजद्वारा प्रदानित  हरेक चुनौतीहरुको सामना मात्र गरेका छैनन् त्यसमा विजय पनि प्राप्त गरेका छन् । समाजमा व्याप्त अँध्यारो चिरेर उज्यालो दीप प्रज्वलित गर्ने अँध्यारो बस्तीकी नायिका, आफ्नो अस्मितामा आच आउने गरी बलत्कार गर्न तम्सेको पुरुष पात्रलाई सबक सिकाउने प्रतिकार कथाकी म पात्र, अनेकौं अप्ठ्याराहरुका वीचमा पनि बाँचेर संघर्ष गर्दै नयाँ काँचुली फेरेको जीवन बाँच्ने माया दिदी कथाकी पात्र माया लगायतका पात्रहरूको भोगाइ अस्तित्ववादी दर्शन निकट छ ।

अँध्यारो बस्तीकी नायिका कृति भित्रका नारीहरू स्वच्छन्दतावाद निकट भावुक प्रेमबाट पनि चर्चनीय छन् । खासगरी मन त्यसै बहकिन्छ र यो कस्तो प्रेम ? कथामा प्रयुक्त नारी पात्रहरुमा यस्तो स्वभाव देखिएको हो । भावुक प्रेमका दृष्टिले महत्व राख्ने कथा यो कस्तो प्रेम ? मा माया र सुभाष विच पहिलो भेटमै झ्यागिएको प्रेमिल सम्बन्ध र विवाह देखि सुहागरातसम्म विस्तार भएको घटनाक्रम भावुक प्रेमलाई देखाउन पर्याप्त छ। एवम् रितले शीर्षककै तहबाट भावुक प्रेममा केन्द्रित भएको मन त्यसै बहकिन्छ कथामा गाडीको यात्रा गर्दै गर्दा म पात्र र  पवनका बिचको हेराहेरले अङ्कुरण भएको प्रेम,आकर्षण र आशक्तिमा आधारित कथानकले पनि कृतिभित्रका नायिकाहरू भावुक प्रेमबाट परिचालित भएको यथार्थ पुष्टि गरेको छ ।

कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका कृति भित्र टुहुरो, नाइँ होस्टेल बस्दिन लगायतका कथाहरुमा सशक्त ढंगले प्रस्तुत भएको बालमनोविज्ञान प्रशंसनीय छ नै  । यसका साथसाथै उक्त सङ्ग्रहभित्रका कथाहरूमा प्रयोग भएका कैयौं नारी पात्रहरू समेत मनोविज्ञानका दृष्टिले चर्चनीय छन् । सानो उमेरमै श्रीमान् गुमाएर  सेता वस्त्रसंग रहरलाग्दा जीवन साट्नु पर्दा सासू र अन्य सदस्यहरुबाट राहतको साटो आहत मिलेपछि आत्महत्याको शिकार भएकी रमाको मनमा मृत्युपूर्व जमेका अनेकौँ कुण्ठाहरू, काँचुली फेरेको जीवन कथामा १८ वर्षमा बिहे भएर २५ वर्षमा विधवा भएकी म पात्र सारीमा सजिएर हलुका शृङ्गार गरेर देवरको बिहेमा सहभागी हुन खोज्दा नन्द आमाजूका आँखाले घोच्न थालेपछि अथवा सासूले धकेल्दै “यस्तो शुभसाइतमा जान हुन्न भन्ने थाहा छैन तेरो पाइलो परेपनि अलच्छिन हुन्छ छाया पनि देखिनुहुन्न जन्तीले दुलही लिएर नआउन्जेल तेरो अनुहार देखिनुहुन्न बुझिस्” भन्दै ढोका बन्द गरी बाहिरबाट चुकुल लगाइदिए पछि म पात्रका मनमा उठेका अनेकौँ तरङ्गहरू, मन त्यसै बहकिन्छ शीर्षकको कथामा लोग्नेको मायामा देखिएको नैराश्यता र अतृप्त यौन चाहनाबाट म पात्रको मनमा खेलेका विचार, स्मृतिदंश कथामा श्रीमान् को मृत्यु पश्चात स्मृतिले डसेकी म पात्रको जीवनका कथा ब्यथाहरूले उत्पन्न मनोविज्ञानले कृतिको ओझ बढाएको छ ।

माया दिदी कथाकी पात्र मायाको कारुणिक जीवनबाट उत्पन्न मनोविज्ञान, श्रीमान् सासू र माइतका सदस्यहरू बाट समेत अपहेलित हुँदा जाविदाको मनमा उत्पन्न मनोविज्ञान, लोग्ने कथामा बलत्कारीसंग विवाह गर्नुपर्ने र उसैबाट रगताम्य हुनेगरी दिनहुँ कुटाइ खाँदा शीलाको मनमा उत्पन्न विचार पनि मनोविज्ञानलाई मलजल गर्ने घटनाक्रम हुन् । त्यसैगरी हजुरआमा कथाकी हजुरआमा पात्र एवं भूतको कथा कथामा भूतको भूमिकामा देखिएकी छायाँ पात्र जस्ता थुप्रै नारी पात्रहरूको मनभित्रका पीडा, छटपटी, उकुसमुकुस आदि खुल्ला किताब भएर प्रस्तुत भएको हुँदा कृतिभित्र प्रयुक्त नारी पात्रहरूलाई मनोविज्ञानका दृष्टिले पनि विश्लेषण गर्न सकिन्छ ।

 कथाकार दिला शाहद्वारा वि.सं. २०७९ चैत्र ११ का दिन सार्वजनिक गरिएको अँध्यारो बस्तीकी नायिका साहित्यको कथा विधा अन्तर्गतको कृति हो । १४४ पृष्ठको मध्यम लमाइ गत आयाम प्राप्त गरेको यस कृतिमा ५ पृष्ठ देखि १३ पृष्ठ सम्म विस्तारित १८ वटा कथाहरू समेटिएका छन् । कृतिभित्रका अधिकांश कथाहरूले नारी संवेदनालाई उठाएका छन् । नारी अन्तर्गत छोरी आमा र हजुरआमा तिनै पुस्ता कथाका पात्र बनेर आएका छन् भने अधिकांश नारी पात्रहरू दुखी, अन्याय र अत्याचार सहन बाध्य पारिएका, श्रीमानबाट हेपिएका, श्रीमान गुमाएका कारण सासू र समाजबाट अपहेलित तथा धर्म र अन्धविश्वासको चेपुवामा परेका पात्रका रुपमा प्रयोग भएका छन् ।

अधिकाँश हिन्दू धर्म र जाबेदा लगायत एकाध मात्र मुस्लिम धर्ममा आस्था राख्ने नारी पात्रहरू प्रयोग भएका कथाहरूमा शिक्षित÷अशिक्षित, गाउँले÷शहरिया, सधवा ÷ विधवा, निडर ÷ कायर, पलायन बादी ÷ संघर्षशील प्राय यी सबै प्रवृत्ति भएका नारी पात्रहरूको  उपस्थिति पाइन्छ । यति हुँदाहुँदै पनि कृतिको शीर्षक स्वयंले संघर्षशील नारीको अपेक्षा गरिरहँदा संघर्ष गर्न लायक र आफ्नो अस्तित्वको लडाईंमा खरो भएर उत्रन सक्ने  नारीहरूको संख्या भने अत्यन्त न्यून छ । कारुणिक परिवेश सिर्जना गर्ने नाममा कतिपय नारी पात्रहरूलाई चरम यातनाको शिकार बनाइंदा अथवा आत्महत्याको अवस्थासम्म पुर्याइएका एकदुई घटनाहरू केही अतिसयोक्तिपूर्ण देखिए पनि समग्रमा अँध्यारो बस्तीकी नायिका कथासङ्ग्रह नेपाली समाजमा दिनचर्या बिताइरहेका नारीहरूको दुखेको, गुनासो, पिडा, वेदना र संघर्षको पर्याय बनेर आएको छ ।

(समीक्षक प्याकुरेल, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जका उप प्राध्यापक हुनुहुन्छ । –सम्पादक)

advertisement_1680627706.gif