राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २९ असार, २०८०
काठमाडौँ। नेपालि साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाण्डौ, लगाएत विदेशमा समेत नेपाली भाषीहरुले भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम गर्दैछन ।
भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो। उहाँले अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गर्नुभएको थियो । उहाँका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’ लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।
नेपाली साहित्यका आदि कविका रूपमा परिचित भानुभक्त रामायणका अनुवादकका रूपमा प्रख्यात हुनुहुन्छ । उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो ।
भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।