मंगलवार, २८ माघ, २०८२

बाँकेका सागर गैरेको उपन्यास मोहोर लोकार्पण

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ श्रावण, २०८१

बाँकेका सागर गैरेको उपन्यास मोहोर लोकार्पण

नेपालगन्ज । कोहलपुरका साहित्यकार सागर गैरेद्वारा लिखित उपन्यास “मोहोर” शनिवार आयोजित एक कार्यक्रमका वीच लोकार्पण गरिएको छ । कोहलपुर नगरपालिका स्थित हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य, वरिष्ठ साहित्यकार  तथा समालोचक प्रा.डा. कृष्णप्रसाद घिमिरेले गैरेको उपन्यास मोहोर विमोचन गर्नुभएको हो ।

सो कार्यक्रममा मुख्य वक्ता रहनु भएका प्रा.डा. जनार्दन आचार्यले यो उपन्यासले तत्कालिन समयको सामाजिक आर्थिक तथा ऐतिहासिक पक्षलाई समेट्न सफल भएको बताउनु भयो । प्रा.डा. जनार्दन आचार्यले उक्त उपन्यासमा एक सामान्य नागरिकले भोगेका अनुभवहरुको कथा भएपनि उक्त कथा उक्त समयमा सबैको कथा भएको बताउनु हुँदै उक्त पुस्तक मार्फत तत्कालीन समाज र जनजीवन बुझ्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्का वक्ता समालोचक प्राध्यापक हरिप्रसाद तिमिल्सिनाले मोहोर उपन्यासमा केही नयाँ प्रयोग समेत भएको बताउनु हुँदै उपन्यास राम्रो बनेको छ र अझै राम्रो बनाउन सकिन्थ्यो भन्दै उहाँले पाठकहरुबाट प्राप्त प्रतिक्रियाहरू माथि गम्भीर हुन उपन्यासकार गैरेलाई आग्रह गर्नुभयो ।पूर्व प्राज्ञसभा सदस्य तिमिल्सिनाले मोहोरमा सैद्धान्तिक रुपले औपन्यासिक शैलीमा नरहेको बताउनु भयो । उहाँले पुस्तकको बनोटले औपन्यासिक संरचना समात्न नसकेपनि यसको विषयवस्तु पठनीय रहेको विचार व्यक्त गर्नुभयो ।समालोचक तिमिल्सिनाले उपन्यासमा आफ्ना पिताको संघर्षको कथालाई छोराले शब्दमा उतारेको र त्यसले दुईवटा पुस्ता वीचको सम्वादको महत्वलाई उजागर गरेको बताउँदै तत्कालीन समाजका विश्वास, आर्थिक तथा सामाजिक जीवन र बसाईं सराईंको कथा उपन्यासको मूल विषयवस्तु रहेको बताउनु भयो ।

सो अवसरमा लेखक सागर गैरेले भन्नुभयो– मैले मेरो कथा लेखेँ । मेरो छट्पटी र उकुसमुकुस लेखेँ । उपन्यास वा कथाको सिद्धान्तलाई भन्दा मेरा बुबाको अनुभव र अनुभूतिलाई लेख्ने प्रयास गरेँ । आख्यान लेखनमा मेरो यो पहिलो अनुभव भएकोले पनि आफूलाई उत्साहित गरेको बताउनु भयो ।लेखक गैरेले पिताको संघर्षको कथा लेख्ने हुट्हुटीले आफूले सैद्धान्तिक कुराहरुमा त्यति ध्यान नदिएको बताउनु भयो । उहाँले भन्नुभयो– ‘बुवाको अनुभूतिलाई समेटेर मैले आफ्नो लागि “मोहोर” पुस्तक लेखें । मोहोर उपन्यासको फम्र्याट भित्र हेर्दा कमैमा गणना होला, तर बुवाको आँखामा भने परिरहनेछ । बा–आमालाई खुसी देख्ने कुरालाई मैले मोहोर लेखें ।’कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले आमाको बारेमा धेरैले आख्यान, गैरआख्यान, गीत, कविता लेखेका औल्याउँदै सागर गैरेले आफ्ना बुवालाई प्राथमिकतामा राखेर पुस्तक लेखेको बताउनु भयो ।मोहोरका लेखक गैरेले पिता घनश्यामको जीवनवृत्तमा आधारित संस्मरणहरु समेटेर उपन्यास तयार पारेका हुन् । माया पब्लिकेशनबाट प्रकाशित उपन्यास ‘मोहोर’को मूल्य ५९५ रुपैयाँ रहेको छ ।

विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष विपी अस्तु, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिलाको सहभागिता थियो ।त्यसैगरि पुराना साहित्यकार गणेश जिसी, सिर्जना कला साहित्य प्रतिस्थानका महासचिव जीत बहादुर शाह, अन्तर्राष्ट्रिय नेपाली साहित्य महासंघ लुम्बिनी शाखाका अध्यक्ष किरण आचार्य, प्रलेस बाँकेका पुष्पमणि प्रधान, भेरी साहित्य समाज केन्द्रिय समितिका सदस्य भरतबहादुर रानाभाट, विश्व साहित्य समाज नेपालकी अध्यक्ष कल्पना पौडेल, विश्व साहित्य समाज लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेल, साहित्यकार भिम बहादुर शाही, पुष्कर रिजाल, भिम बहादुर शाही, चरित्रा शाह, नवीन अभिलाषी, पद्मा रिजाल, दिपिन सिजापती, धिरेन अनुपम, प्रेमप्रकाश पुन एवम् लेखकका पिता उपन्यासका नायक घनश्याम गैरे लगायत करीब एक सय पचास बढी साहित्यकार, साहित्यानुरागी तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका कानुनी सल्लाहकार सन्तोषी विष्टले स्वागत गर्नु भएको सो कार्यक्रम बद्री ढकाल हिरामणिले सञ्चालन गर्नुभएको थियो ।

बाँकेका सागर गैरेको उपन्यास मोहोर लोकार्पण

advertisement_1676553908.gif
अन्य समाचार