सिताराम घिमिरे, मंगलवार, ५ असार, २०८०
(नियन्त्रण रेखा)
दुई देश बीचको नियन्त्रण रेखामा,
एउटा गाई चर्दा चर्दै घुस्यो
उताको देशमा।
एउटा बाख्रो चर्दा चर्दै
आयो यताको देशमा।
भोक यता पनि छ
,उता पनि छ।
दाँत यता पनि छन्
उता पनि छन्
दाँना यता पनि छ
उता पनि छ
सरकार यता पनि छ
उता पनि छ।
राष्ट्रबाद यता पनि छ
उता पनि छ।
नियन्त्रण रेखा
माथि चम्केको सूर्य
यताको पनि हो
उताको पनि हो।
सूर्य भ्रमित छन्
यता जाउँ कि उता जाउँ
तर पनि निश्चित छ।
गाई र बाख्राको मृत्यु!