राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ ०५ गुल्मी । गुल्मीमा बाँदर लखेट्ने क्रममा लडेर घाइते भएकी ५० वर्षीय महिलाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका ७ कुँडापानीमा बाँदर लखेट्ने क्रममा लडेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
निउरेनी जंगलको गोरेटो बाटोमा लडेकी उनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीबाट टोली घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याएको थियो । गम्भीर अवस्थामा अस्पताल ल्याइएकी पाण्डेलाई चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीरशोकरमालका अनुसार पाण्डे मकैबारीमा आएको बाँदर लखेट्ने क्रममा चिप्लिएर करिब २५ मिटर तल खसेकी थिइन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।