मंगलवार, २८ आश्विन, २०८२

लोक वार्ता सङ्गोष्ठी तथा कार्यपत्र प्रस्तुति कार्यक्रम सम्पन्न ।

सिताराम घिमिरे, आईतवार, ७ फाल्गुन, २०७९

लोक वार्ता सङ्गोष्ठी तथा कार्यपत्र प्रस्तुति कार्यक्रम सम्पन्न ।

पाल्पा। लोक वार्ता परिषद काठमाण्डौको आयोजना तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको संयोजन र  विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा ११ औ  लोक वार्ता सङ्गोष्ठी तथा कार्यपत्र प्रस्तुति कार्यक्रम त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा शनिबार  सम्पन्न भएको छ ।
                  कार्यक्रम उद्घाटन सत्रका अध्यक्ष त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टङ्क भट्टराईले क्याम्पसले यति राम्रो कार्यक्रमको संयोजन गर्ने अवसर पाउनु सौभाग्य भएको बताउनु भयो । कार्यक्रम सफल पार्न संयोजनमा सहयोग पुर्याउने डा. शंकरप्रसाद गैरे, टङ्कप्रसाद पन्थ लगायतका मित्रहरूको योगदानको चर्चा गर्दै सहयोगी संस्था बगनासकाली गाउँ पालिका, तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिका, ग्रामीण आर्थिक विकास संघ रेडालगायतका संस्थाहरुलाई सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले पाल्पामा क्रियाशील साहित्यिक संघ संस्थाहरुले अब लोक वार्ताको क्षेत्रमा पनि योगदान पुर्याउनु पर्छ भन्नुभयो ।
                     कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले अहिले हामीले हाम्रो संस्कार, संस्कृति भुल्दै गएका छौं । आफ्नो भाषा भुल्दै गएका छौं । हाम्रो भाषा, कला, संस्कार, संस्कृति, परम्परामा आइरहेको स्खलनलाई रोकेर यसलाई जोगाउन विद्वत वर्गले सक्नुपर्छ भन्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्नु भयो ।
दोस्रो सत्रको कार्यक्रम कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेकोे थियोे जसको अध्यक्ष प्रा. डा. माधव पोखरेलले गर्नुभएको थियोे । यस सत्रमा दशजना लोकवार्ताकारहरुले आ- आफ्नो  कार्यपत्र प्रस्तुत गर्नुभयो । जसमा 
        प्रा. डा. भवेश्वर पंगेनीले -पाल्पा र यसको गौरव,झपेन्द्र जीसीले- कडुवा/ कौडा/ कौरा गीत,रोहित ज्ञवालीले- पाल्पाली ब्राह्मणहरुको कुलपुजाको सामाजिक, साँस्कृतिक महत्त्व,मन गहिरेले- तानसेनको ऐतिहासिक धरोहर अमर नारायण मन्दिर,मदन देउरालीले- पाल्पाली मठ मन्दिर,विष्णु घर्ती भनभनेलीले- गुल्मेली घर्ती भुजेलको इतिहास, संस्कृति,ईश्वरी पोखरेलले- पूर्वी अर्घाखाँचीमा प्रचलित सकुन अपसकुन मान्यता,डा. सावित्री मल्ल कक्षपतिले- नेवार समुदायले मनाउने गरेको गथामङ्गल परम्परा,रुवी सत्यालले- आफ्नै विधिले उत्पादन गरिएको बहुलाभकारी मानिएको- सर्व हितकारी चूर्ण,कृष्णप्रसाद कोइरालाले- रुरु एक धार्मिक क्षेत्र ।कार्यपत्र प्रस्तुतिका क्रममा सहभागीहरुबाट राखिएका जिज्ञासाको उत्तर कार्यपत्र प्रस्तोताहरुले दिनुभएको थियोे ।कार्यपत्र प्रस्तुति सत्रका अध्यक्ष प्रा. डा. माधव पोखरेलले सबै कार्यपत्रहरुको संक्षिप्त समीक्षा गर्नुभयो । उहाँले लोक वार्ता शव्दबाट जनमानसमा अस्पष्टता रहेको भन्ने प्रसंगमा "वार्ता" शव्दको व्याख्याद्वारा प्रष्ट पार्नुभयो । कार्यक्रममा लोक वार्ता अभियानमा विशेष योगदान पुर्‍याउने लोक वार्ता परिषद पाल्पाका सचिव डा. शंकरप्रसाद गैरे तथा अन्य सहयोगी संस्थाहरुलाई आयोजक संस्था लोक वार्ता परिषदका तर्फबाट अभिनन्दन पत्र, प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियोे । त्यस्तै गरि केन्द्रबाट आउनुभएका लोकवार्ता परिषद तथा अन्य सबै पाहुना र कार्यपत्र प्रस्तोताहरुलाई संयोजक संस्था त्रिभुवन बहुमुखी क्याम्पसका तर्फबाट मायाको चिनो पाल्पाली ढाका टोपी, खादा प्रदान गरियो ।
                     कार्यक्रममा आयोजक संस्थाका तर्फबाट अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रमको परिचय र उद्देश्य माथि प्रा. डा. भवेश्वर पंगेनीले प्रकाश पार्नु भएको थियोे । कार्यक्रम सञ्चालन उद्घाटन सत्रमा लोक वार्ता परिषद पाल्पाका सचिव डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियोे भने कार्यपत्र प्रस्तुति सत्रको कार्यक्रम सञ्चालन संस्थाका महासचिव प्रा. डा. ध्रुवराज भट्टराईले गर्नुभएको थियोे ।  यस लगत्तै फागुन ७ गते रानीमहल, त्यस पछि अर्गली र अर्घाखाँचीमा लोक वार्ता विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।
 

advertisement_1676551646.gif