बुधबार, १९ मंसिर, २०८१

advertisement_1730215456.gif

लुम्बिनी प्रदेशलाई यस आ.व. भित्र सडक आश्रित मानव मुक्त प्रदेश बनाउने उद्घोष

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १६ कार्तिक, २०८१

लुम्बिनी प्रदेशलाई यस आ.व. भित्र सडक आश्रित मानव मुक्त प्रदेश बनाउने उद्घोष

नेपालगन्ज।  मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीद्वारा मंगलवारसम्म एक सय ३९ सडक आश्रित मानिसहरुको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत उद्धार गरिएका १०६ जना पुरुष र ३३ जना महिलाको उद्धार गरिएको हो । सो आश्रमका अनुसार लुम्बिनी प्रदेशका जिल्लाहरुबाट हालसम्म ३३ जना सडक आश्रित मानिसको उद्धार गरिएको छ । 

उद्धार टोलीको अगुवाई गरिरहनु भएका मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले दिनु भएको जानकारी अनुसार अभियानको क्रममा आइतवारसम्म एक सय ३९ सडक आश्रित मानिसहरुको उद्धार गरिएको छ भने लुम्बिनी प्रदेशका जिल्लाहरुबाट मात्र हालसम्म ३३ जना सडक आश्रित मानिसको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको १६ औँ दिन मंगलवार बाँके जिल्लामा ५ जनाको उद्धार भएको छ । राष्ट्रिय उद्धार यात्राका क्रममा मंगलबार बाँके जिल्लाका विभिन्न स्थानीय पालिकाहरुबाट ५ जनाको उद्धार भएको छ ।  

जसमध्ये नेपालगञ्ज उपमहानगरपालिका–१८ बाट २ जना, कोहलपुर नगरपालिका–११ बाट १ जना, जानकी गाउँपालिका–६ बाट १ जना र बैजनाथ गाउँपालिका–१ बाट १ जना सडक मानवहरुको उद्धार गरिएको हो । बाँके स्थित मानव सेवा आश्रममा उद्धार टोलीलाई स्वागत गरिएको थियो भने बुधवार उद्धार टोली सुर्खेत हुँदै सुदूर पश्चिम प्रस्थान गरेको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा शुरु गरेको हो । प्रधानमन्त्री केपि ओलीले उद्घाटन गर्नु भएपछि असोज २८ गतेबाट झापाको मेचीनगरदेखि थालनी भएको यात्राको १६ औँ दिन दाङसम्म पुग्दा १३० जना सडकआश्रित मानिसको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष अधिकारीले बताउनु भयो । उद्धार गरिएका १०१ जना पुरुष र २९ जना महिलाको संख्या मध्ये २ बालिका र १ जना बालक पनि रहेका छन् ।वि.सं. २०७७ मा शुरु गरिएको पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ७ सय ५८ जनाको उद्धार गरिएको थियो भने अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ३ सय ४ जनाको उद्धार भएको थियो । उक्त उद्धार यात्राको सबै खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । मानव सेवा आश्रमले आउँदो वर्ष २०८२ साल भित्र नेपाललाई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश निर्माण गर्ने संकल्प गरेकोछ ।  

आइतवार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालय दाङ देउखुरीमा पुगेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई स्वागत तथा सम्मान गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताउनु भएको छ । मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतवार स्वागत गर्दै मुख्यमन्त्री आचार्यले मानव भएर मानवको हिसाबले बाँच्न पाउने वातावरण सुनिश्चित गरिने बताउनु भएको छ । मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकतामा राखेको बताउँदै आगामी वर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने बताउनु भयो । 

मुख्यमन्त्री आचार्यले मानव मानवसेवा आश्रमले गरेको कामको प्रसंशा गर्दै कार्यक्रममा आश्रमले गरेको गतिविधिको भिडियो हेरेर आफू स्तब्ध र थप गम्भीर बनेको बताउनु भएको छ ।  कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष अधिकारी र आनी छोइङ डोल्मालाई मायाको चिनो प्रदान गदैैै उहाँले राज्यले गर्नुपर्ने काम आश्रमले गरेको बताउँदै आगामी दिनहरुमा आश्रमसँग साझेदारी गरेर अगाडि बढ्ने र आश्रमका लागि बजेट छुट्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । साथै लुम्बिनी प्रदेशलाई पनि सडकआश्रित मानवमुक्त प्रदेश बनाउन लुम्बिनी प्रदेश सरकार मानवसेवा आश्रमसँग सँगै सहकार्य र सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो । 

त्यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत यात्राको १४ औँ दिन आइतवार दाङबाट ४ जना सडकआश्रित मानवहरुको उद्धार भएको छ । राष्ट्रिय उद्धार यात्राका क्रममा लमही नगरपालिका–५ बाट ३ जना र राप्ती गाउँपालिकाबाट १ जना गरि ४ जनाको उद्धार गरिएको हो ।

लुम्बिनी प्रदेशलाई यस आ.व. भित्र सडक आश्रित मानव मुक्त प्रदेश बनाउने उद्घोष

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg