राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १८ फाल्गुन, २०८१
नेपालगन्ज। पोखरा विश्वविद्यालयका नवनियुक्त उप–कुलपति प्रा.डा. वेदराज केसीले नेपाली विद्यार्थीहरुको विदेश पलायनको कारणको खोजी गर्दै स्वदेशमै टिकाउने खालको नीति निर्माण गर्न आवश्यक पहल भइरहेको बताउनु भएको छ।
उप–कुलपति प्रा.डा. केसीले विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशद्वारा आफ्नो सम्मानमा आयोजित कार्यक्रममा उक्त भनाई राख्नु भएको हो ।कक्षा १२ पास गरेपछि विदेशमा पढ्न र काम गर्न जान खोज्ने प्रवृत्ति बढ्दै गएको हुँदा यसको ठोस कारणको अनुसन्धान गरेर ती विद्यार्थीहरुलाई स्वदेशमै पठनपाठन र रोजगारीको अवसर दिने खालको शिक्षा प्रणालीको विकास गर्दै पाठ्यक्रम समेत तयार गरिनेछ भन्दै उप–कुलपति प्रा.डा. केसीले ४० हजार विद्यार्थी भएको नेपालकै ठुलो विश्वविद्यालय पोखरा विश्वविद्यालयले एक सय शैयाको अस्पताल सञ्चालन गरिरहेको र छिट्टै एमविविएस र स्नातकोत्तर कक्षा सञ्चालन गर्न लागिएको बताउनु भयो ।
नेपालगन्जमा रहेर तीन दशकसम्म महेन्द्र बहुमुखी क्याम्पस, अल्पाइन कलेज लगायत विभिन्न शिक्षालयमा अध्यापनको अनुभव बटुल्नु भएका प्रा.डा. केसी पुस १४ गते उप–कुलपति पदमा नियुक्त हुनु भएको हो । सोही कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश कमिटिले विभिन्न विषयमा विद्यावारिधि उपाधि पाएका नेपालगन्जका चार जना व्यक्तित्वलाई बधाई तथा सम्मान गरेको थियो ।विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उप–कुलपति प्रा.डा. वेदराज केसीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उप–कुलपति प्रा.डा. केसीलाई विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेल, विशिष्ट अतिथिद्वय लुम्बिनी प्राविधिक विश्वविद्यालयका उप–कुलपति प्रा.डा.विनोद प्रसाद ढकाल र लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेले खादा, अबीर सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।
सो अवसरमा विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालयका प्रा.डा. उप–कुलपति विनोद प्रसाद ढकालले विभिन्न विधामा विद्यावारिधि प्राप्त गर्ने विद्वानहरुलाई लुम्बिनी प्राविधिक विश्वविद्यालयमै विभिन्न विषयमा अनुसन्धानका लागि अवसर दिन सकिने कुरा बताउनु भयो।
सो कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट सिद्धिचरण श्रेष्ठका खण्डकाव्यमा रसविधान शीर्षकमा विद्यावारिधि प्राप्त गर्ने डा. हरि प्रसाद तिमिल्सिना (उहाँकी जीवन संगीनी श्रीमती मीना बराल), अछामका देउडा गीतमा धार्मिक तथा साँस्कृतिक शिक्षा शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट विद्यावारिधि प्राप्त गर्ने डा.जगत कुमार खत्री तिमिल्सिना(उहाँकी जीवन संगीनी गोमा डिसी), विवेकानन्द ग्लोबल विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गर्ने डा. कबिन्द्र भट्टराई, (उहाँकी जीवन संगीनी चन्द्रावती शर्मा)लाई प्रमुख अतिथि प्रा.डा. केसी, विशिष्ट अतिथिद्वय लुम्बिनी प्राविधिक विश्वविद्यालयका उप–कुलपति प्रा.डा. ढकाल र सेवा आयोगका सदस्य प्रा.डा. घिमिरे, विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेल लगायतले खादा ओढाएर सम्मान–पत्र प्रदान गरी बधाई तथा सम्मान गर्नुभएको थियो । विद्यावारिधि प्राप्त गर्ने अर्का डा. राज कुमार थारुको भने विशेष कारणवश उपस्थिति थिएन।
कार्यक्रममा आयोजकको तर्फबाट विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेलले विशिष्ट अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
साहित्यकार गीता आर्यालद्वारा सञ्चालित सो कार्यक्रममा स्वागत मन्तव्य विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चरित्रा शाहले गर्नु भएको थियो भने विश्व नेपाली साहित्य महासंघ नेपाल बर्दियाका सचिव महेन्द्र सेडाईले बधाई गीत गायन र बधाई कविता वाचन चन्द्रावती अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि विश्व नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासु, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, विशिष्ट अतिथिहरु नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी र विश्व नेपाली साहित्य महासंघ नेपालका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले बधाई तथा शुभकामना व्यक्त गर्नु हुँदै विद्यावारिधि गर्नु भएका विद्वानहरुले समाज र देशका लागि योगदान दिन क्रियाशील हुनसके मात्र यो उपाधिको सार्थकता हुने धारणा राख्नु भएको थियो ।
विद्यावारिधि उपाधि पाएकोमा सम्मानित हुनेहरु डा. कबिन्द्र भट्टराई, डा.जगत तिमिल्सिना, डा. हरि प्रसाद तिमिल्सिना आ–आफ्ना विचार रख्नु भएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उप–कुलपति वेदराज केसी, विद्यावारिधि उपाधि पाउनु हुने सबैलाई शाश्वत आचार्य स्मृति प्रतिष्ठानको तर्फबाट अध्यक्ष प्रा.डा. जनार्दन आचार्य र उपाध्यक्ष किरण आचार्यले खादा ओढाएर बधाई र सम्मान गर्नु भयो भने प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका अध्यक्ष पंकज कुमार श्रेष्ठ र अछामी सेवा समाजबाट पनि खादा ओढाएर सम्मान गर्नु भएको थियो ।
सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, प्रा.डा. जनार्दन आचार्य, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका उपाध्यक्ष सुमित्रा न्यौपाने, प्रलेसका निवर्तमान अध्यक्ष पुष्पमणि प्रधान, प्राध्यापक कमान सिंह बोहरा, ज्ञानोदय उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, बद्री ढकाल, हरि सुवेदी, जीत बहादुर शाह, नेपाल टेलभिजन कोहलपुरका प्रमुख विजय वर्मा, लुम्बिनी वाङ्मय, बाँकेका अध्यक्ष भरत बहादुर रानाभाट, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य झलक गैरे, बाँके शाखाका सभापति नवीन गिरी, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्र बहादुर बस्नेत, वरिष्ठ कलाकार सुन्दर गुरुङ्ग, रिष्ठ अधिवक्ता लोक बहादुर शाह, हरित अभियन्ता हेमन्तराज काफ्ले लगायत करीब ५० जना लब्धप्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो ।