आईतवार, १० कार्तिक, २०८२

तटबन्ध पुनःनिर्माण नहुँदा दुई गाउँपालिकाका ६० हजार नागरिक डुवानको उच्च जोखिममा, राज्य कहिल्यै गम्भीर भएन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ श्रावण, २०८१

तटबन्ध पुनःनिर्माण नहुँदा दुई गाउँपालिकाका ६० हजार नागरिक डुवानको उच्च जोखिममा, राज्य कहिल्यै गम्भीर भएन

नेपालगन्ज । विगतका वर्षहरुमाझैं यस वर्ष पनि राप्ती नदीको कटान र बाढी आएको कारण बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका केही गाउँका बस्तीहरु डुवानको उच्च जोखिममा परेका छन् । राप्ती नदीले भत्काएको तटबन्ध पुनःनिर्माण हुन नसक्दा उक्त दुई गाउँपालिकाका करीब ६० हजार सर्वसाधारण डुवानको उच्च जोखिममा परेका हुन् । 

राप्तीसोनारी गाउँपालिका वडा नं.७ को खल्ला झगडिया, वडा नं. ६ र नरैनापुर गाउँपालिका–६ मा नदीको कटान तथा डुवान रोक्न निर्माण गरिएको अस्थाई तटबन्ध दुई वर्षअघि नै बाढीले क्षति पु¥याएको थियो ।पछिल्लो समय राप्ती नदीमा बाढी आएको कारण दर्जनौ गाउँहरु उच्च जोखिममा रहेका नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवले जानकारी दिनुभयो । यादवका अनुसार पछिल्लो समय राप्तीमा जल सहत बढ्दै गएकोले नदीको धार गाउँतिर सोझिँदै गएकोले जोखिम बढेको हो । लगातार वर्षा हुनासाथ राप्तीको बाढी गाउँ पस्ने जोखिम बढ्दै गएको उहाँले बताउनु भयो । राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ ।

अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्तीसोनारी–७ नयाँबस्तीका शङ्कर यादवले बताउनुभयो । “बाढी रोकथाम गर्न लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, नदीले कटान गर्दै गाउँतिर सोझिएको छ” ठूलो बाढी आयो भने गाउँ बगाउँछ भन्ने चिन्ताले रातभरस् राम्ररी निदाउन पनि सकिँदैन ।” तटबन्ध निर्माण नभएकाले राप्तीसोनारी– ६ र ७ का सर्रा, भवानीयापुर, पहाडीपुर, बसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वा लगायत गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदरवेटवा, कुडुवा लगायत बस्ती जोखिममा छन् ।
बस्ती जोगाउन निर्माण भएको तटबन्ध भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा ठूलो क्षति हुने अवस्था आएको वडा नं. ७ का वडाध्यक्ष रामलखन थारुले बताउनुभयो । उक्त समस्याको दीर्घकालीन समाधान खोज्न र अहिलेको जोखिम न्यूनीकरण गर्न राप्तीसोनारी र नरैनापुर गाउँपालिका, जनताको तटबन्ध लगायत अन्य सरोकारवाला निकायमा जानकारी गराइएको बताउँदै हालसम्म मर्मत सम्भारको पहल नभएको उहाँले गुनासो गर्नुभयो ।

उक्त दुई गाउँपालिकामा भएको डुवानको समस्याबारे बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले स्थलगत अनुगमन गर्नुभएको छ । बिहीवार संघीय सांसद् गृृह जिल्ला बाँके पुग्ने बित्तिकै राप्ती नदिले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको हो । उहाँ राप्ती नदिले वर्षेनी डुवानमा पर्दै गएका राप्तीसोनारी र नरैनापुरवासीका गुनासो सुन्न र प्रत्यक्ष बाढी प्रभावित बस्ती र कटान क्षेत्रमा पुग्नुभएको थियो । 

अवलोकन र बाढी प्रभावित गाउँलेहरुसंग छलफल र गुनासो सुनेपछि प्रतिनिधिसभाका सांसद् सूर्य ढकालले राप्तीसोनारी र नरैनापुर दीर्घकालीन रुपमा समस्या समाधान गर्न सङ्घीय सरकारसँग छलफल गर्ने प्रतिबद्धता जनाउनु भयो । खल्ला झगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी तत्काल सरोकार भएका निकायको ध्यानाकर्षण गराउने उहाँले जानकारी दिनुभयो । 

नेकपा एमालेबाट निर्वाचित सांसद् ढकालले भन्नुभयो– “अहिले भएको वर्षाद्का कारण नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीमा प्रवेश गर्ने अवस्था आइरहेको छ र “नदीले तीव्र रुपमा कटान गर्दै धार परिवर्तन गर्नसक्ने जोखिम भएकोले बस्ती जोगाउन निरन्तर राज्यसँग पहल गरिरहेको छु ।”सांसद ढकालले सो ठाउँमा नदीले भत्काएको अस्थाई तटबन्ध बजेटको अभावले पुनःनिर्माण नगरिएको हुँदा दुई पालिकाका दर्जन बढी गाउँका करीब ६० हजार जनता डुबान र बाढीको उच्च जोखिममा रहेको बताउनु हुँदै ठुलो वर्षा भएकोले नदीले कटान गरेर खेतीयोग्य जमिन र बस्तीमा नै प्रवेश गर्ने अवस्था आइरहेको बताउनु भयो । उहाँले राप्ती नदीले कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम छ, त्यसैले तत्कालै तटबन्धको काम शुरु गर्न आवश्यक भएकोले निरन्तर राज्यसंग पहल गरिरहेको र छिटो सुनवाई हुने आशा व्यक्त गर्नुभयो । राप्ती सोनारीको कुसुुमदेखि गंगापुरसम्म तटबन्धका लागि राज्यले १२ अरब बजेट छुट्याएको छ, तर बजेट निकासा नभएको हुनाले यसको काममा बाधा पुगेको उहाँले बताउनु भयो । 

हरेक वर्ष राप्ती नदीको डुवान र कटानको समस्या भोग्दै आएका बाँके जिल्ला का राप्ती टतिय क्षेत्रमाबसोबास गर्ने बासिन्दाको यो समस्याको स्थायी समाधानका लागि राज्य कहिल्यै गम्भीर हुन सकेन । जब जब वर्षाद्ले नदी कटान हुन्छ, तबतब जनप्रतिनिधिहरुको आँखा खुल्छ भन्ने स्थानीय बासिन्दाको गुनासो छ ।  

advertisement_1680627680.gif