राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ भदौ २९ काठमाडौं । आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउन लागिएको हो । राष्ट्रिय बाल अधिकार दिवस प्रत्येक वर्ष भदौ २९ गते मनाउने गरिन्छ ।
बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि नागरिक समाज, अभिभावक तथा सम्पूर्ण सरोकारवाला निकायहरूलाई थप जिम्मेवार बनाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संंरक्षण गर्नुपर्ने आवश्यकता छ ।
त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए । यस अवसरमा आज परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन् ।