राष्ट्रिय सन्देश संबाददाता, ५९ मिनेट पहिले
२०८३ बैशाख १२, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाभित्रका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गराउने अभियान तीव्र पारेको छ । आजदेखि बस्ती खाली गराउन सुरु गरेको सरकारले भोलिदेखि नै वास्तविक सुकुम्वासी पहिचानको प्रक्रिया अघि बढाउने भएको छ ।
बस्ती खाली गराउने सरकारी कदमसँगै हालसम्म थापाथली क्षेत्रमा बसोबास गरिरहेका ६८ परिवार सरकारको प्रत्यक्ष सम्पर्कमा आएका छन् । अन्य विभिन्न स्थानबाट पनि सुकुम्वासी परिवारहरू सम्पर्कमा आउने क्रम जारी रहेको प्रशासनले जनाएको छ ।
सम्पर्कमा आएका परिवारहरूलाई व्यवस्थित गर्ने प्रक्रिया यसरी अघि बढाइएको छ । सम्पर्कमा आएकाहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको व्यक्तिगत तथा पारिवारिक विवरण संकलन गरिनेछ ।
विवरण संकलन पश्चात् उनीहरूलाई काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी सरकारले गरेको छ । ती परिवारका घरायसी सामानहरूलाई कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यासमा सुरक्षित रूपमा भण्डारण गरिएको छ । प्रत्येक परिवारको सामान छुट्टाछुट्टै स्थान बनाएर राखिएको छ ।
होटलमा राखिएका परिवारहरू साँच्चै भूमिहीन र वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्नेबारे भोलिदेखि नै सूक्ष्म पहिचान कार्य सुरु हुनेछ । सरकारले वास्तविक सुकुम्वासीलाई उचित व्यवस्थापन गर्ने र सुकुम्वासीको नाममा सरकारी जग्गा कब्जा गर्नेहरूलाई कानुन बमोजिम कारबाही गर्ने नीति लिएको छ।बस्ती खाली गराएसँगै नदी किनारको सौन्दर्यीकरण र ढल व्यवस्थापनको कामले गति लिने विश्वास गरिएको छ ।