राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ कार्तिक १५ काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको छ । माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको भने हाल आंशिक प्रभाव मात्र बाँकी रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै देशका अधिकांश स्थानमा मौसम क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाको भनाइ छ।
हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली (बाक्लो बादल) रहेको छ भने बाँकी भूभागमा आंशिक बादलमय मौसम छ । यसैबीच, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही एक-दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने देशका हिमाली र पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति पनि देशभर आंशिक बादल लाग्ने क्रम जारी रहनेछ । विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
हालको मौसमी प्रणालीका कारण तराई, उपत्यका तथा नदी किनारका खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने क्रम बढेको छ । यसबाट पारदर्शिता (भिजिविलिटी) कम हुन सक्ने भएकाले हवाई तथा सडक यातायातमा सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। सर्वसाधारण तथा यात्रा गर्ने यात्रुहरूलाई चिसोबाट बच्न र आवश्यक सावधानी अपनाउन समेत सुझाव दिइएको छ ।