राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ २६ काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ। सोही क्रममा सेनाले आज हवाई मार्गमार्फत थप ३० जनाको सकुशल उद्धार गरेको छ। सैनिक मुख्यालयले जारी गरेको पछिल्लो विवरण अनुसार यससँगै बाढी प्रभावित क्षेत्रबाट सेनाद्वारा उद्धार गरिएका नागरिकहरूको कुल संख्या ४ हजार १३७ पुगेको छ। उद्धारसँगै प्रभावित क्षेत्रहरूमा राहत तथा खोजी कार्यलाई थप सशक्त बनाइएको छ।
विशेष गरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र फसेकाहरूको खोजीका लागि सेनाले विशेष टोली परिचालन गरेको छ। रसुवागढी जलविद्युत् आयोजनामा सेनाको कम्पोजिट क्विक रियाक्सन टिम र विदेशी विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरिरहेका छन्। त्यसैगरी, लाङटाङ हाइड्रोको टनेलभित्र नेपाली सेनाको छुट्टै टोलीले खोजी जारी राखेको छ भने चिलिमे हाइड्रोको टनेलमा जमेको लेदो पन्छाउने काम भइरहेको छ। चिलिमेमा भारी उपकरण पुर्याउनका लागि सुरुङसम्मको पहुँच मार्ग निर्माण कार्य समेत सम्पन्न भइसकेको सैनिक मुख्यालयले जनाएको छ।
उद्धारका क्रममा अत्याधुनिक प्रविधिको समेत प्रयोग गरिएको छ। माथिल्लो त्रिशूली–१ हाकुबेशीस्थित अडिट–१ टनेलको करिब २०० मिटर आसपास क्षेत्रमा नेपाली सेनाले ड्रोनमार्फत हवाई सर्भे (रेकी) गरी खोजी कार्य गरिरहेको छ, यद्यपि हालसम्म त्यहाँ कुनै मानिस वा वस्तु फेला परेको छैन। यसका साथै त्रिशूली–३ 'ए' को पावरहाउस तथा टनेल क्षेत्र र त्रिशूली–३ 'बी' मा पनि संयुक्त टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। नदी तटीय तथा दुर्गम क्षेत्रहरूमा उद्धार पहुँच पुर्याउन सेनाले रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायत स्थानहरूमा पैदल गस्ती समेत बढाएको छ।
खोजी र उद्धारका साथसाथै प्रभावितहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सेनाले विभिन्न स्थानमा स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ। स्याफ्रुबेँशी होल्डिङ सेन्टरमा सञ्चालित शिविरबाट आज ५४ जना र धुञ्चेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत ८५ जनाले उपचार सेवा पाएका छन्। यी केन्द्रहरूबाट हालसम्म कुल ३ हजार ६६५ जना बाढी प्रभावितले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्।
नेपाली सेनाले रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रहरूमा ८ हजार ७ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा खटाएको छ। उक्त विशाल फौजले उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन चिकित्सा सेवा प्रदान गर्ने कार्यमा एकीकृत रूपमा काम गरिरहेको छ।