मंगलवार, १२ श्रावण, २०८३

२४ घण्टामा विपद्का ४७ घटना, ३ जनाको मृत्यु, विशेष सतर्कता अपनाउन आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ श्रावण, २०८३

२४ घण्टामा विपद्का ४७ घटना, ३ जनाको मृत्यु, विशेष सतर्कता अपनाउन आग्रह

फाइल तस्विर

२०८३ साउन ०७, काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र सर्पदंश जस्ता विपद्को जोखिम बढेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

प्राधिकरणले जनधनको सुरक्षालाई प्राथमिकतामा राख्दै पूर्वसावधानीका उपायहरू पालन गर्न र यात्रा गर्नुअघि अनिवार्य रूपमा मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।

प्राधिकरणका अनुसार वर्षाको समयमा यात्रा गर्दा निकै चनाखो हुनुपर्नेछ । ठूलो पानी परिरहेका बेला सकेसम्म रातिको समयमा यात्रा नगर्न र बाढी आएको अवस्थामा खोला, खोल्सा वा नदी तर्ने प्रयास नगर्न सचेत गराइएको छ ।

त्यसैगरी वर्षा भइरहेका बेला काठ-दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न नदी किनारमा नजान तथा पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न ध्यानाकर्षण गराइएको छ ।

जोखिमयुक्त पुल तथा नदी किनारमा उभिएर फोटो वा भिडियो खिच्ने काम नगर्न, हाइकिङ वा पैदलयात्रामा एक्लै ननिस्कन र विपद्को कुनै पनि सङ्केत पाउनासाथ सुरक्षित स्थानतर्फ लागी स्थानीय प्रशासन वा सुरक्षाकर्मीलाई खबर गर्न भनिएको छ । यसैगरी, सम्भावित जोखिमबाट बच्न घरवरिपरिका ढल तथा नाली सफा राख्न, सर्पको टोकाइबाट बच्न उज्यालो वा टर्चलाइटको प्रयोग गर्न र चट्याङ पर्न लागेमा तुरुन्तै सुरक्षित आश्रयस्थलमा जान आग्रह गरिएको छ ।

आपतकालीन अवस्थाका लागि महत्त्वपूर्ण कागजात, अत्यावश्यक औषधि र नबिग्रिने खानेकुरा एउटा झोलामा तयार राख्न तथा मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरेर राख्न पनि सुझाइएको छ । भ्रामक अफवाहको पछि नलागी केवल आधिकारिक स्रोतबाट आउने सूचनामा मात्र विश्वास गर्न आग्रह गर्दै प्राधिकरणले विपद् सम्बन्धी सूचना वा उद्धारका लागि ११५५, १२३४, १०० र १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

गत असार ५ गतेदेखि सुरु भएको यस वर्षको मनसुनका कारण जनधनको क्षति रोक्न पूर्वतयारीका प्रयास जारी राखिएका छन् । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना दर्ता भएका छन्, जसबाट अनुमानित १३ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ । साउन ५ गतेदेखि ६ गते बिहानसम्मका यी घटनाहरूमा परि तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार यस अवधिमा पहिरोका १४, सर्पदंश र आगलागीका आठ-आठ, अविरल वर्षाका आठ, जनावर आक्रमणका तीन, बाढीका दुई र हावाहुरीको एक घटना घटेका छन् ।

advertisement_1676553851.gif