राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १८ पुष, २०८२
२०८२ पुष १८, काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली छपाई सुरु भएको छ । शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली छपाइको सुरू गरेका हुन ।
निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली प्रकाशन गरिसकेको छ । आगामी निर्वाचनका लागि लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । आयोगका अनुसार, ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् ।
गत २०७९ सालको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए। जसमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ रहेका थिए ।
छपाइ कार्य तोकिएको समयभित्रै सम्पन्न गर्ने आयोगले जनाएको छ । देशभरका निर्वाचन कार्यालयमा मतदाता नामावली समयमै पठाउने तयारी गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।