राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १९ पुष, २०८२
२०८२ पुष १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्द सूचीमा रहेका कलाकार आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।
साहले जनता र पार्टी कार्यकर्ताको भावनाअनुसार उम्मेदवारी फिर्ता लिएको उल्लेख गर्दै समानुपातिक सूचीमा रहेका अन्य उम्मेदवारहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् ।(शाहले आफू सक्रिय राजनीतिमा संलग्न व्यक्ति नभए पनि देशप्रतिको जिम्मेवारीबोध सधैँ रहेको उल्लेख गरेका छन् ।
‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ उनले लेखेका छन्, ‘साथै जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’
उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने बताएका छन् । ‘प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ–उठ्ने नै हो । हामी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ,’ उनले भनेका छन्, ‘देशभन्दा ठूलो केही हुँदैन ।’