शुक्रबार, २९ फाल्गुन, २०८२

अन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छः वर्षमान पुन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २६ पुष, २०८२

अन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छः वर्षमान पुन

२०८२ पुष २६, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताएका छन् । स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका हुन् ।

हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि संकटमा रहेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।  पुनले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्व नामेट पार्न खोज्ने प्रवृत्तिलाई निस्तेज पार्न देशलाई माया गर्ने राष्ट्रियता पक्षधरबीच एकता र सहकार्य जरुरी रहेको पनि बताए । 

‘हजारौंको बलिदानीपछि प्राप्त उपलब्धि खतरामा छ । यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व नै नामेट गर्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय अस्मिता, अखण्डताका पक्षधर देशभक्त शक्तिहरु एक ठाउँमा उभिनुपर्छ ।’ 

मुलुकको राजनीति अत्यन्तै अस्थिर र तरल अवस्थामा रहेको र कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन रहेको पुनले औंल्याए । ‘अहिले राष्ट्रिय राजनीतिमा अस्थिर, तरल र अनिश्चियजस्तो वातावरण छ । कहाँ पुगेर स्थिरता प्राप्त गर्छ भन्न नसकिने अवस्था छ’, उनले भने । 
पुनले राजनीतिसँगै अर्थतन्त्रमा पनि समस्या चुलिएको बताए । ०७२ को महाभूकम्प र कोभिड–१९ महाकारीबाट प्रभावित अर्थतन्त्र तङ्ग्रिन खोज्दै गर्दा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि फेरि सुस्ततामा गएको उल्लेख गरे ।

आन्दोलनका क्रममा भएको विश्वंशका कारण निजी क्षेत्रको मनोबल गिरेको उनको भनाइ थियो ।

advertisement_1680627706.gif