राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ३ फाल्गुन, २०८२
२०८२ फागुन ०३, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएको अवधिमा राजनीतिक दल र उम्मेदवारलाई प्रचार–प्रसार गर्न अनुमति दिएको छ । आयोगका अनुसार निर्धारित समयसीमाभित्र मात्रै चुनावी गतिविधि सञ्चालन गर्न पाइनेछ ।
आयोगले प्रचारका क्रममा दल, उम्मेदवार र समर्थकलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । तोकिएको समयपछि भने कुनै पनि प्रकारको प्रचार गर्न नपाइने स्पष्ट पारिएको हो ।
निर्वाचनको नतिजामा प्रभाव पार्न कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तबरबाट डर, त्रास तथा धम्की दिन नहुने आयोगको निर्देशनमा उल्लेख छ। निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख भए बमोजिम ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा वितरण गर्नबाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाका लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।
मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने भनी आयोगले राजनीतिक दललाई निर्देश गरेको छ । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारीसाधन प्रयोग गर्न वा गराउन, कुनै सवारी साधनको प्रयोग गरी र्याली गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ ।
निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने, निर्वाचन प्रचारप्रसारमा प्रचलित सङ्घीय कानुन विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी सङ्घ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने आयोगले निर्देशन दिएका छन् ।