राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १७ पुष, २०८२
२०८२ पुष १७, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ ।
आज (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन हुँदा ओली नेपालको प्रधानमन्त्री थिए । आयोगका अध्यक्ष कार्कीले भने, ‘बयानका लागि ओलीलाई बोलाउने क्रममा छौं । अब हामी उहाँलाई चिठि काट्दैछौं ।’
आयोगका अध्यक्ष कार्कीले निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सकिएको पनि जानकारी गराए । बयान सकिएलगतै लेखकमाथि लगाइएको स्थान हद फुकुवाको तयारी भइरहेको पनि बताइएको छ । आयोगले थप गरिएको म्यादभित्रै सरकारलाई प्रतिवेदन बुझाउने पनि कार्कीले बताए ।
यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो ।