राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २७ पुष, २०८२
२०८२ पुष २७, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् ।
‘तपाईंहरूले जति गर्नु भएको छ, तपाईंहरूको यो प्रयासले कांग्रेसमा यो स्थापित गरेको छ, कांग्रेस दास र लासहरूको पार्टी होइन । कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो,’ उनले भने, ‘जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन । जिउँदो कांग्रेसले बल्ल समाजको जिम्मेवारी पूरा गर्न सक्छ ।’
उनले थप भने, ‘यहाँ प्रश्न छन् । जुन पार्टीमा प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन । जसले प्रश्न गर्न सक्दैन उसले उत्तर पनि खोज्न सक्दैन । तपाईँहरूको प्रयासले काँग्रेसलाई ज्यूँदो राखेको छ ।’ उनले जेनजी आन्दोलनका क्रममा देखिएको रिस र आक्रोश भ्रष्टाचार, कुशासन र बेथितिसँग भएको बताए ।
‘नेपालका लाखौँलाख नरनारीहरूले सडकमा आएर रिस पोखेका हुन् । को सँग व्यक्त गरेको ? सरकारसँग । अनि सरकारमा को थियो ? हामी थियौँ,’ उनले भने, ‘संसद्मा को थियो ? हामीसँग । व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको हो । भ्रष्टाचार, कुशासन र बेथितिसँग रिसाएको हो ।’
उनले थप भनेका छन्, ‘राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीको राजदेखि रिसाएको हो । रिसाएकै हो । चित्त दुखाएकै हो नि । हाम्रो अगाडिको प्रश्नलाई अनदेखा गर्ने, बेवास्ता गर्ने वा बुझ्ने, मनन गर्ने र सम्बोधन गर्ने भन्ने हो । विशेष अधिवेशन त्यसको एउटा प्रयास हो ।’