राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १७ पुष, २०८२
२०८२ पुष १७, काठमाडौं । गैर न्यायिक सडक तथा खोलानदी, मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ ।
बिहीबार खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । साथै उनीहरुले खोलानदीको मापदण्ड खारेज गर्न समेत माग गरेका छन् ।
गैर न्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै साँचल सङ्घर्ष समिति, विष्णुमती करिडोर (चमति) तदर्थ समिति, संयुक्त खोला मापदण्ड प्रभावित सङ्घर्ष समिति, बागमती–मनोहरा सरोकार समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले मुख्यतया ‘फैसला होइन न्याय देउ, गैर न्यायिक खोला मापदण्ड खारेज गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’, र ‘खोला–नदीको मापदण्ड खारेज गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २०–२० मिटर छाडेर मात्र संरक्षण गर्न पाइने आदेश दिएको थियो। प्रदर्शनकारीहरूले उक्त निर्णयको खारेजीको माग गर्दै यस विरोध प्रदर्शन गरेको जनाएका छन् ।