राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ६ पुष, २०८२
२०८२ पुष ०६, जनकपुर । मधेश प्रदेशको सभाभुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार मधेश प्रदेशसभामा बहुमतका साथ उनी निर्वाचित भएका हुन् ।
प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा यादवले ७२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा २४ मत खसेको थियो ।
पहिलो प्रस्तावमाथि मत विभाजन भएर नै यादव निर्वाचित भएपछि नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वत: खारेज भएको थियो ।
नेपाली काँग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले उहाँको पक्षमा मतदान गरेको थियो । त्यस्तै नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले विपक्षमा मतदान गरेको थियो ।
निर्वाचित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा पनि प्रदेशसभा सदस्य थिए ।