राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १० माघ, २०८२
२०८२ माघ ९,काठमाडौँ । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसँगै नेकपामा प्रवेश गरेका भन्ने समाचारको खण्डन गर्दै एमालेका कतिपय नेताहरुले आफूहरूले पार्टी नछाडेको प्रष्टीकरण दिएका छन् । अखिल नेपाल महिला सङ्घ अध्यक्ष तथा एमाले सचिवालय सदस्य पशुपति गुरुङ, जिल्ला सदस्य चम्पा राई, जिल्ला कमिटी सदस्य डिल्लीशेर राई, छवि धमला लगायत नेताले आफूहरू नेकपामा नगएको बताएका छन्।त्यस्तै जिल्ला कमिटी सदस्य दामोदर धमलाले विज्ञप्ति निकाल्दै आफू एमाले र सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन लागिरहेको बताएका छन् ।
उनले आफ्नो बारेमा भ्रममा नपर्न समेत आग्रह गरेका छन् । अर्का जिल्ला कमिटी सदस्य झनक कार्कीले पनि आफू एमाले उम्मेदवार र सूर्य चिह्नको पक्षमा रहेको भन्दै सहमतिविपरीत नाम दुरुपयोग नगर्न आग्रह गरेका छन् ।
नेकपा प्रवेश गरेको भनिएका ३७ जनाको लिस्टमा समावेश जिल्ला कमिटी लेखा आयोग अध्यक्ष मोहन ढकाल,प्रदेशका विभाग सदस्य तथा निर्माण व्यवसायी संगठनका दिनेश श्रेष्ठ र कुमार कार्की (जालन्धर) ले पनि एमालेमै रहेको भन्दै नाम दुरुपयोग नगर्न भनेका छन्।
नेकपा एमालेले केन्द्रीय सदस्य जेनजी पुस्ताकी युवा नेता अस्मिता थापालाई उम्मेदवार बनाएपछि ओखलढुंगाका एमाले नेता अम्बिरबाबु गुरुङ नेकपा प्रवेश गरेर उम्मेदवार बनेका छन् । उनीनिकट जिल्ला कमिटीका अध्यक्षसहितका पदाधिकारी शुक्रवार नेकपामा प्रवेश गरेका थिए।उक्त लिस्टमा नाम नसोधी राखिएको भन्दै ९ जना नेताले असहमति जनाएका छन् ।