राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १३ पुष, २०८२
२०८२ पुष १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भू–राजनीतिक दबाब र हस्तक्षेपको घेरामा फसेको बताएका छन् ।
राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन गर्दै आइतबार उनले नेपाल अहिले सामान्य राजनीतिक संक्रमणमा मात्रै नरहेको बताएका हुन् । उनले नेपालमा बाह्य शक्तिहरूको प्रभाव तीव्र हुँदै गएको र संवेदनशील अवस्थामा पुगेको बताए ।
अध्यक्ष लिङ्देनले नेपालको निर्णय क्षमता नेपाली जनताको हातबाट बाहिरिँदै गएको दावी गरे । विदेशी शक्तिहरूले कसलाई जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने दाउपेच सुरु भइसकेको उनको तर्क छ । नेपालमा यसको संकेत स्पष्ट रूपमा देखिएको समेत उनको भनाइ छ ।
अध्यक्ष लिङ्देनले आगामी फागुन २१ गते तोकिएको चुनावले समस्याको समाधान नगर्ने र देशमा झन् बरबादी हुने समेत बताए । देश अनिश्चितताको दिशातर्फ धकेलिएको र सहमति बिनाको चुनावले देश झन् अस्थिर बन्दै जाने उनको तर्क छ । उनले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा उभिएका सबै शक्तिहरूलाई राप्रपामा गोलबन्द हुन समेत आह्वान गरे ।
केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई एकढिक्का बनाउने अभियान सुरु भइसकेको बताउँदै उनले राष्ट्रिय एजेन्डामा एकजुट भए मात्र देशले सही दिशा लिन सक्ने समेत बताएका छन् ।