राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ७ माघ, २०८२
२०८२ माघ ६, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छिन् ।
मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको सन्दर्भमा जारी सन्देशमा प्रधानमन्त्री कार्कीले तोकिएको समय सीमाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल तथा उम्मेदवारप्रति आभार व्यक्त गरेकी छिन् । उनले निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरण भएको उल्लेख गर्दै यस प्रक्रियामा देखिएको सक्रियताले लोकतन्त्रप्रतिको जनविश्वास प्रस्ट भएको बताइन् ।
प्रधानमन्त्रीका अनुसार १६५ पदका लागि तीन हजार चार सयभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता हुनु लोकतान्त्रिक प्रणालीप्रति नागरिकको विश्वास र सहभागिताको संकेत हो । निर्वाचन प्रक्रियामा देखिएको उत्साहले राजनीतिक क्षेत्रसँगै निजी क्षेत्र र समग्र अर्थतन्त्रमा पनि सकारात्मक ऊर्जा प्रवाह गरेको उनको भनाइ छ ।
सुरक्षा व्यवस्थाबारे प्रधानमन्त्री कार्कीले कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पारेकी छिन्। सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको उल्लेख गर्दै उनले निर्वाचनलाई सुरक्षित र विश्वसनीय ढङ्गले सम्पन्न गरिने विश्वास व्यक्त गरिन् ।
सन्देशमा प्रधानमन्त्रीले निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरिरहेको निर्वाचन आयोगप्रति सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेकी छिन् । साथै, निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दै सबै नागरिकलाई संयमित र सक्रिय सहभागिताका लागि अपिल गरेकी छिन् ।