शुक्रबार, २९ फाल्गुन, २०८२

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २५ माघ, २०८२

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

२०८२ माघ २४, काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आउँदो फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिए ।

उनले हाल सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने बताए । निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उनको भनाइ छ ।

निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको उनले उल्लेख गरे । उनले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए ।

गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचनको सुरक्षामा कुनै कमीकमजोरी नगर्न र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिइसकेको उनले जानकारी दिए ।

मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिन अनुरोधसहित मिथ्या/भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउनेजस्ता सूचना नराख्न भन्दै त्यस्ता गतिविधि गरेमा कारबाही हुने जानकारी गराएको छ ।

advertisement_1772818633.jpg