राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ३० माघ, २०८२
२०८२ माघ २९, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाल सरकारलाई सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण गरेको छ ।
गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले तेसरो चरणको सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गृहमन्त्री, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी प्रमुख लगायत उच्च अधिकारीको उपस्थिति थियो ।
भारत सरकारले पहिलो चरणमा ६२, दोस्रो चरणमा २५४ र तेस्रो चरणमा २२३ गरी कुल ५८९ सवारीसाधन उपलब्ध गराएको जनाएको छ। साथै सोही अवसरमा नेपाली सेनाका लागि ५० वटा सवारीसाधन पनि हस्तान्तरण गरिएको छ ।
निर्वाचन प्रयोजनका लागि आवश्यक सवारीसाधन उपलब्ध गराइदिन गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहायताको अनुरोध गरेको थियो । सोही अनुरूप भारत सरकारले सहयोग उपलब्ध गराएको हो ।