राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २६ पुष, २०८२
२०८२ पुष २६, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा शनिवार आयोजित पार्टीको कार्यक्रममा दाहालले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका हुन् ।
उनले भने,‘म अहिलेको चुनाव रुकुमैबाट लड्छु। म पूर्वी रुकुममा आउने करिब निश्चित छ। म पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुम पनि आउने नै हो। रुकुम एउटै हो।’
दाहालले जनार्दन शर्मालाई आन्दोलनबाट भागेको नेताको संज्ञा दिएका छन् । उनले रुकुमका जनता महान रहेको र जनार्दनजस्तो भगौडाको पछि नलागेको भनेर धन्यवाद ज्ञापन गरे ।
मध्यपहाडी लोकमार्ग अभियानको क्रममा आफूले रुकुमका नेता कतिपय पलायन भएको र तर जनता पलायन नभएको भनेर भाषण गरेको पनि दाहालले स्मरण गराए । रुकुमका जनता र कार्यकर्ता जहिल्यैपनि नेतृत्व, क्रान्ति र पार्टीको साथमा रहेको उनको भनाइ थियो।
उनले रुकुमेली जनता कुनै पलायन, ढोंगी र पाखण्डको पछि नलाग्ने भनेर आफूले पहिल्यैपनि भनेको सम्झाए। उनले भने,‘रुकुमेली जनता पार्टीको पक्षमा उभिएका छन्। उनीहरु त क्रान्तिका लाल सिपाही हुन् ।’
उनले आफू अब रुकुमको पक्षमा रहने पनि घोषणा गरे । उनले भने,‘म हमेशा तपाईंहरुको साथमा हुनेछु । हेडक्वार्टर तपाईंहरुको साथमा हुनेछ। पहिलेभन्दा बढि यहाँको विकास गर्नेछु । यहाँको समग्र विकासमा मेरो साथ हुनेछ। नयाँ संकल्प गरेका छौं ।’