राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ४ फाल्गुन, २०८२
२०८२ फागुन ०४, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही-३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।
उहाँले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा एमालेमा समाहित भएको घोषणा समेत गरेका छन् । यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानून अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गरे । उनले वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
नेता यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न समेत आह्वान गरे । साथै उहाँले एमाले रुपन्देही–३ का उम्मेदवार वासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल समेत गरेका छन् ।
सोमबार एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरु भूमिस्वर ढकाल, गोमादेवी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,वासुदेव घिमिरे, प्रमोद यादव, हरिप्रसाद अधिकारि, उमा काफ्ले र अनुप बराल लगायतले नेता यादवलाई स्वागत गरेका थिए ।
