राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ६ माघ, २०८२
२०८२ माघ ५, काठमाडौँ । रास्वपाबाट गुल्मी १ मा सागर ढकाल चुनाव लड्ने भएका छन्। ढकालले आफू गुल्मी १ बाट चुनाव लड्ने जानकारी गराएका छन् । ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने जानकारी दिएका हुन् ।
ढकालले गुल्मी र वरपरका जिल्लालाई नेपालकै ‘बौद्धिक शक्ति केन्द्रको संज्ञा दिँदै गुल्मीको क्षमता देशको समग्र कायापलटमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भारतको गुजरात राज्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गुल्मी–गुजरात मोडेल’ मार्फत नेपालको विकास सम्भव हुने दाबी गरेका छन्।
उनका अनुसार लोकसेवामा गुल्मीको उपस्थिति सधैँ बलियो रहँदै आएको छ र गुल्मेली समाजमा बौद्धिकता, इमान्दारिता र उत्कृष्टता स्वाभाविक रूपमा रहेको छ । अब यही क्षमतालाई आगामी २५ वर्षमा देशको विकासका लागि परिचालन गर्नुपर्ने उनको भनाइ छ ।
ढकालले स्थिर सरकार, प्रशासनिक सुधार र दीर्घकालीन राजनीतिक नेतृत्व विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने उल्लेख गरेका छन् । उनले इतिहासमै पहिलो पटक पाँच वर्षसम्म एकै प्रधानमन्त्री रहने व्यवस्था स्थापित गर्नुपर्ने र कर्मचारीतन्त्रका समस्या समाधान गरेर देशको काँचुली फेर्ने लक्ष्य लिएको बताएका छन् ।
आगामी निर्वाचनमा गुल्मीले १६५ निर्वाचन क्षेत्रमध्ये ‘मतान्तर प्रतिशतका आधारमा’ सबैभन्दा ठूलो जित हासिल गर्ने विश्वास ढकालले व्यक्त गरेका छन् । साथै, गुल्मीको प्रभाव छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ र प्युठानसम्म विस्तार हुने उनको दाबी छ ।
यहाँ एमालेबाट प्रदीप ज्ञवाली र काँग्रेसबाट प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन् । ढकाल अघिल्लो चुनावमा डडेलधुरा शेरबहादुर देउवासँग चुनाव लडेका थिए । उनी देउवासँग पराजित भएका थिए ।